काठमाडौं। आगामी प्रतिनिधि सभा सदस्य निर्वाचनलाई शान्तिपूर्ण र सुरक्षित वातावरणमा सम्पन्न गराउन नेपाली सेना पूर्ण तयारीमा जुटेको छ। नेपाली सेना ले आइतबार विज्ञप्ति जारी गर्दै निर्वाचन सुरक्षामा आफ्नो स्पष्ट प्रतिबद्धता दोहोर्याएको हो।
सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार “एकीकृत सुरक्षा योजना–२०८२” अनुरूप अन्य सुरक्षा निकायहरूसँग समन्वय गरी सुरक्षा व्यवस्था मिलाइएको छ। निर्वाचन अवधिभर आवश्यक स्थानमा सुरक्षाकर्मी परिचालन गरिने जनाइएको छ। मतदान सम्पन्न भएपछि स्थापित प्रोटोकलअनुसार नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल, निर्वाचन अधिकृत, दलका प्रतिनिधि तथा नेपाली सेनासहितको संयुक्त टोलीले मतपेटिका सुरक्षित रूपमा ढुवानी गर्ने व्यवस्था मिलाइएको छ। मतगणना स्थलसम्म सुरक्षित पुर्याउने जिम्मेवारी पनि यही टोलीले वहन गर्नेछ।
सेनाले २०४८ सालदेखि हालसम्म सम्पन्न सबै निर्वाचनमा सुरक्षा प्रदान गर्दै आएको स्मरण गराएको छ। यसपटक पनि मतदानस्थलको बाहिरी घेरामा सुरक्षा दिने, काठमाडौंस्थित केन्द्रदेखि देशभरका जिल्ला निर्वाचन कार्यालयसम्म मतपत्र ढुवानी गर्ने र मतदानपछि मतपेटिका सुरक्षित राख्ने कार्यमा सेना संलग्न रहनेछ। नेपाली सेनाले सबै सरोकारवाला निकायसँग सहकार्य गर्दै निर्वाचनलाई मर्यादित, निष्पक्ष र व्यवस्थित बनाउन आवश्यक सबै तयारी पूरा गरिएको जनाएको छ।














