अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशन (आइएसएस) सन् २०३० मा पृथ्वीमा फर्किँदा यसले करिब तीन दशक लामो शान्तिपूर्ण अन्तर्राष्ट्रिय सहकार्यको अन्त्यलाई सङ्केत गर्नेछ । साथै, अन्तरिक्ष मानव जीवन र विश्वव्यापी सहकार्यको केन्द्र बनेको एउटा महत्त्वपूर्ण युगको समाप्ति पनि यसले जनाउनेछ ।
नोभेम्बर २००० यता, फुटबल मैदानको आकार बराबरको वैज्ञानिक प्रयोगशालामा सधैँ मानिसहरूको उपस्थिति रहँदै आएको छ । पृथ्वी वरिपरि करिब आठ किलोमिटर प्रतिसेकेन्डको गतिमा परिक्रमा गर्ने आइएसएसले वैज्ञानिक अनुसन्धान, प्रविधि विकास र मानवीय सहकार्यलाई निरन्तर अघि बढाउँदै आएको छ ।
अन्तरिक्ष यात्रीहरूको नयाँ टोली आगामी हप्तामै स्टेशनतर्फ प्रस्थान गर्न तयारी अवस्थामा रहँदा, जमिनबाट आइएसएसलाई सहयोग गर्ने धेरै व्यक्ति यसको आसन्न अन्त्यप्रति भावुक देखिएका छन् । नासाको विज्ञान तथा मिसन सिस्टम अफिसका पूर्वप्रबन्धक जोन होर्याकले आइएसएस सीमा, भाषा र संस्कृतिभन्दा माथि उठेर मानवीय सहयोग र सहकार्यको केन्द्र बनेको बताउनुभयो ।
उहाँले २५ वर्षभन्दा बढी समयदेखि अन्तरिक्षमा २४ घण्टा, वर्षभरि मानिसको उपस्थिति रहनु मानव इतिहासकै असाधारण उपलब्धि भएको उल्लेख गर्नुभयो । उहाँका अनुसार, आइएसएसले समस्या समाधानमा टकरावभन्दा सहकार्य रोज्ने मानव क्षमताको स्पष्ट प्रमाण प्रस्तुत गरेको छ ।
शीतयुद्धपछि अन्तरिक्ष दौडका पुराना प्रतिद्वन्द्वी रुस र संयुक्त राज्य अमेरिकाबीचको सहकार्यको नयाँ भावना झल्काउँदै आइएसएसको प्रस्ताव अघि बढाइएको थियो । युक्रेनमा मस्कोको युद्धका कारण रुस र पश्चिमबीच धेरै सम्बन्ध चिसिँदै गए पनि अन्तरिक्ष स्टेशनमा सहकार्य भने निरन्तर जारी रहनु उल्लेखनीय मानिएको छ ।
फ्रान्सको अन्तरिक्ष एजेन्सी सिएनइएसका लियोनेल सुचेतले मानव अन्तरिक्ष उडानको इतिहास पहिलो र सबैभन्दा महत्त्वपूर्ण अन्तरिक्ष दौड भएको बताउनुभयो । उहाँले आइएसएसको विकासलाई अन्तरिक्ष अन्वेषणको दृष्टिले अत्यन्तै रोचक चरणका रूपमा वर्णन गर्नुभयो । सुचेतले सन् २००१ मा मिर स्पेस स्टेसनको डि–अर्बिटिङ देखेपछि आइएसएसका प्रारम्भिक परियोजनाहरूको समन्वय गरेको अनुभव पनि स्मरण गर्नुभयो ।
यद्यपि समयसँगै आइएसएस पुरानो बन्दै गएको छ र यसका धेरै उपकरणहरू पनि म्याद सकिने चरणमा पुगेका छन् । नासाले गत वर्ष एलन मस्कको स्पेसएक्सलाई सन् २०३० मा आइएसएसलाई पृथ्वीको वायुमण्डलतर्फ सुरक्षित रूपमा फिर्ता ल्याउन सक्ने विशेष वाहन निर्माणको जिम्मा दिएको घोषणा गरेको थियो ।
होर्याकका अनुसार, शक्तिशाली रकेट इन्जिन प्रयोग गरेर आइएसएसको गति कम गरिनेछ र यसलाई जमिन, मानिस वा अन्य कुनै सम्भावित जोखिमबाट टाढा राख्दै प्रशान्त महासागरको दुर्गम क्षेत्रमा पुनःप्रवेश गराइनेछ । यसअघि मिरसहित धेरै अन्तरिक्ष यान र टेलिस्कोपहरू पोइन्ट नेमो भनिने यही समुद्री क्षेत्रमा खसालिएका थिए ।
सन् २०३० पछि पृथ्वीको तल्लो कक्षामा चीनको तियाङ्गोङ अन्तरिक्ष स्टेशन मात्र रहनेछ । भविष्यलाई लक्षित गर्दै अमेरिकाले निजी कम्पनीद्वारा निर्माण र सञ्चालन गरिने अन्तरिक्ष स्टेशनतर्फ बढी ध्यान केन्द्रित गरिरहेको छ ।
होर्याकले रकेट र उपग्रहमा जस्तै अन्तरिक्ष स्टेशनहरू पनि व्यावसायिक आयामतर्फ अघि बढिरहेको बताउनुभयो । यस अवस्थामा राष्ट्रिय अन्तरिक्ष एजेन्सीहरूले निजी कम्पनीलाई शुल्क तिरेर आफ्ना अन्तरिक्ष यात्री पठाउनुपर्ने अवस्था आउनेछ । जेफ बेजोसको ब्लु ओरिजिन र एक्सिओम स्पेसलगायत कम्पनीहरूले पहिलो व्यावसायिक अन्तरिक्ष स्टेशन निर्माणका योजना अघि बढाइरहेका छन् ।
सुचेतका अनुसार यस्ता परियोजनाहरूको व्यापार मोडेल अझै पनि धेरै हदसम्म संस्थागत नै रहनेछ, किनकि देशहरू पृथ्वीको तल्लो कक्षामा अन्तरिक्ष यात्री पठाउन सधैँ इच्छुक रहनेछन् । उहाँका अनुसार वैज्ञानिक अनुसन्धान र अन्वेषण सम्पूर्ण मानवताको साझा उद्देश्य बनेको छ ।
मानव चन्द्रमामा पुगेपछि अन्तरिक्षमा राष्ट्रहरूको व्यवहार नियमन गर्ने सन्धिहरू यथावत् रहने कि नहुने भन्ने प्रश्न खुला नै रहेको छ । अमेरिका र चीन दुवैले चन्द्रमामा आधार निर्माण गर्ने योजना अघि सारेका छन् ।
होर्याकका लागि आइएसएसको अन्त्य भावनात्मक रूपमा निकै दुःखद क्षण हो । उहाँले आफ्ना छोराछोरीले आँगनमै उभिएर आइएसएसको उडान हेर्दै हुर्किएको अनुभव सम्झनुभयो ।
तर उहाँका अनुसार, एउटा युगको अन्त्यले अर्को युगको सुरुआत पनि जनाउँछ । मानवले अन्तरिक्ष यात्रा क्षमता, अन्तरिक्ष अन्वेषण र अन्तरिक्षको उपयोगमार्फत सामाजिक, आर्थिक, शैक्षिक तथा जीवनस्तर सुधारतर्फ अझ अघि बढ्नुपर्ने उहाँको धारणा छ ।
युरोपेली अन्तरिक्ष एजेन्सीका पूर्वप्रमुख जीन–ज्याक डोर्डेनको भनाइ उद्धृत गर्दै उहाँले भन्नुभयो, “छिटो जान चाहनुहुन्छ भने एक्लै जानुहोस् । धेरै टाढासम्म जान चाहनुहुन्छ भने सँगै जानुहोस् ।”













