एक पटक जवाहरलाल नेहरु कुनै कामले मसूरी गए । त्यहाँ उनी मानिसहरुलाई भेट्ने विचार लिएर धेरैजसो बजार जाने गर्दथे । एक दिन उनी बजारमा मानिसहरुलाई भेट्दै घुमिरहेका थिए तब एक वृद्ध मुसलमान छडीको पसल अगाडि रोकिए । फेरि छडी किन्ने विचारले त्यो पसलमा छिरे ।
पसलमा कैयौँ प्रकारका छडी थिए । उनले तीमध्ये एउटा छडी मनपराए र दाम सोधे, वृद्ध सज्जनले जवाफ दिए, पण्डितजी तपाईं त यो देशको अमूल्य रत्न हुनुहुन्छ, तपाईंसँग म के मागूँ ?
उनले विनम्रताले भने, कुनै मूल्य नतिरीकन म यो छडी लैजान सक्दिनँ, त्यसैले तपाईंले यसको मूल्य लिनुपर्छ ।
जवाहरलाल नेहरुको कुरा सुनेर पसलेले स्नेह भरिएको स्वरमा भन्यो, मूल्य त म तपाईंसाग लिन सक्दिन किनकि वाल्यकालमा मैले तपाईंलाई यही काखमा खेलाएको छु । आनन्द भवनको प्राङ्गणमा मैले तपाईंसँग तोते बोलीमा सयौँ पटक कुराकानी गरेको छु, तपाईंमाथि मेरो हक छ ।
जवाहरलाल नेहरु पसलेको आत्मीयताबाट प्रभावित भए । उनले मुस्कुराउँदै नम्र स्वरमा भने— मप्रति त तपाईंको पूरा अधिकार छ तर मेरो पनि त तपाईंप्रति कुनै कर्तव्य छ । यो रुपैयाँ राख्नुस् र आफ्ना बच्चाको लागि चकलेट लगिदिनुस् । जवाहरलाल नेहरुले सय रुपैयाँको नोट पसलेको हातमा राखिदिएर अगाडि बढे ।
साभारः ‘प्रेरक प्रसङ्हरु’ पुस्तकबाट













