संखुवासभा — आफ्नै माटोमा जन्मिएर, त्यही माटोको पहिचान विश्वसामु उचालेका व्यक्तित्व हुन् मिङ्मा शेर्पा। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का तर्फबाट संखुवासभाबाट प्रत्यक्ष प्रतिनिधि सभा सदस्यको उम्मेदवार बनेका शेर्पा आज फेरि आफ्नै माटोको सेवा गर्ने संकल्पसहित राष्ट्र निर्माणको अर्को यात्रामा होमिएका छन्।
संखुवासभा जिल्ला अन्तर्गत मकालु गाउँपालिका–१, वालुङमा जन्मिएका मिङ्मा शेर्पा विश्वका सबै १४ वटा ८,००० मिटरभन्दा अग्ला हिमालहरू सफलतापूर्वक आरोहण गर्ने कीर्तिमानी आरोही हुन्। हिमालमा जोखिमसँग जुध्दै शिखर चुम्ने यात्राले उनलाई अनुशासन, धैर्य, नेतृत्व र निर्णय क्षमताको पाठ सिकाएको छ। यही अनुभव अब उनी देशको सर्वोच्च विधायिकामा प्रयोग गर्न चाहन्छन्।
हिमालले चिनाएको नाम मात्र होइन, उनले आफ्नै माटोलाई अवसर दिने काम पनि गरेका छन्। नेपालको अग्रणी ट्रेकिङ तथा आरोहण कम्पनी सेभेन समिट ट्रेक्स प्रा.लि. का अध्यक्षका रूपमा उनले हजारौँ नेपालीलाई रोजगारी प्रदान गर्दै पर्यटन क्षेत्रमार्फत देशको अर्थतन्त्रमा उल्लेखनीय योगदान पुर्याएका छन्। अन्तर्राष्ट्रिय मञ्चमा नेपाली पर्यटन, हिमाली जीवनशैली र शेर्पा समुदायको पहिचान स्थापित गर्न उनको भूमिका महत्वपूर्ण मानिन्छ।
रास्वपाको तर्फबाट उम्मेदवार बनेका मिङ्मा शेर्पा पुरानो राजनीतिक संस्कारभन्दा फरक, इमानदार, पारदर्शी र जवाफदेही राजनीतिको प्रतिनिधित्व गर्ने बताउँछन्। “माटोले मलाई चिनायो, अब म यही माटोलाई चिनाउने र यसको पीडा संसदमा पुर्याउनेछु,” भन्ने उनको प्रतिबद्धता संखुवासभाका मतदातामाझ आशाको रूपमा हेरिएको छ।
हिमालमा जस्तै, देश निर्माणको यात्रामा पनि चुनौती कम छैन। तर संघर्ष, सफलता र सेवाको अनुभव बोकेका मिङ्मा शेर्पा आफ्नै माटोको भरोसा लिएर संसदमा संखुवासभाको आवाज बलियो बनाउने दृढ संकल्पका साथ अघि बढिरहेका छन्।













