गोरखा — नेपाली कांग्रेसबाट गोरखा निर्वाचन क्षेत्र नम्बर १ मा प्रतिनिधिसभा सदस्य पदका लागि प्रेम खत्रीले औपचारिक रूपमा उम्मेदवारी दर्ता गराएका छन्। मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर खत्रीले आफ्नो उम्मेदवारी दर्ता गराएका हुन्।
गोरखा–१ बाट उम्मेदवारी दिएका खत्री एक स्थापित पर्यटन व्यवसायी समेत हुन्। लामो समयदेखि पर्यटन क्षेत्रमार्फत स्थानीय रोजगारी सिर्जना, उद्यमशीलता प्रवर्द्धन र गोरखाको पर्यटन सम्भावनालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा चिनाउन सक्रिय खत्री पहिलो पटक संसदीय निर्वाचनमा प्रतिस्पर्धा गर्न लागेका हुन्।
उम्मेदवारी दर्तापछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै खत्रीले गोरखा–१ का जनताको विश्वास र साथका आधारमा निर्वाचनमा होमिएको बताए। उनले गोरखामा पर्यटन, कृषि, शिक्षा, स्वास्थ्य र रोजगारीका क्षेत्रमा अझै धेरै सम्भावना भए पनि ती अवसरलाई व्यवस्थित रूपमा उपयोग गर्न नसकिएको उल्लेख गरे। “अब कुरा होइन, परिणाम देखिने काम आवश्यक छ,” भन्दै खत्रीले विकासलाई व्यवहारमा उतार्ने प्रतिबद्धता जनाए।
खत्रीले गोरखाको ऐतिहासिक, धार्मिक तथा प्राकृतिक सम्पदालाई पर्यटनसँग जोडेर स्थानीयलाई प्रत्यक्ष लाभ पुग्ने योजना अघि सार्ने बताए। गोरखाका पर्यटकीय गन्तव्यको पूर्वाधार विकास, होमस्टे प्रवर्द्धन, युवालाई पर्यटनसम्बन्धी तालिम तथा स्वरोजगार कार्यक्रममार्फत विदेश पलायन रोक्ने आफ्नो प्रमुख लक्ष्य रहेको उनले स्पष्ट पारे।
त्यस्तै, शिक्षा र स्वास्थ्य क्षेत्रमा गुणस्तरीय सेवा सुनिश्चित गर्न केन्द्र र स्थानीय तहबीच प्रभावकारी समन्वय गर्ने, दुर्गम बस्तीमा स्वास्थ्य सेवा विस्तार गर्ने तथा आर्थिक रूपमा कमजोर विद्यार्थीका लागि छात्रवृत्ति र शैक्षिक सहयोग बढाउने उनको योजना रहेको छ। कृषिमा आधुनिकीकरण, बजार पहुँच विस्तार र स्थानीय उत्पादनलाई प्राथमिकता दिने नीति समेत उनले अघि सारेका छन्।
नेपाली कांग्रेसका स्थानीय नेता तथा कार्यकर्ताले खत्रीको उम्मेदवारीले गोरखा–१ मा पार्टीलाई थप ऊर्जा र उत्साह मिलेको बताएका छन्। उनीहरूले पर्यटन व्यवसायमा खत्रीको अनुभव र सामाजिक क्षेत्रमा देखाएको सक्रियताले गोरखाको समग्र विकासमा सकारात्मक योगदान पुर्याउने विश्वास व्यक्त गरेका छन्।
स्थानीय मतदातामाझ पनि खत्रीप्रति चासो बढ्दै गएको देखिन्छ। नयाँ सोच, व्यावसायिक अनुभव र विकासप्रतिको स्पष्ट दृष्टिकोणका कारण खत्रीलाई वैकल्पिक नेतृत्वका रूपमा हेरिएको स्थानीयको भनाइ छ।
गोरखा–१ मा आगामी प्रतिनिधिसभा निर्वाचनलाई चासोका साथ हेरिएको छ भने कांग्रेसबाट प्रेम खत्रीको उम्मेदवारीले प्रतिस्पर्धा थप रोचक बनेको छ।













