काठमाडौं । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री श्रद्धा श्रेष्ठले समाजकल्याण परिषद् अन्तर्गत भृकुटीमण्डपमा रहेका संरचनाको भाडा व्यवस्था समयानुकूल बनाइने र लामो समयदेखि बाँकी रहेको बक्यौता असुलीमा कडाइ गरिने बताएकी छन्।
बुधबार परिषद्का संरचनाहरूको अनुगमनपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै मन्त्री श्रेष्ठले भाडा नतिरी वर्षौँदेखि संरचना प्रयोग गर्दै आएका संघसंस्थामाथि तत्काल कारबाही प्रक्रिया अघि बढाइने जानकारी दिइन्। उनका अनुसार बक्यौता नतिरेका संघसंस्थाको सूची तयार भइसकेको छ र १५ दिनभित्र औपचारिक पत्राचार गरिनेछ।
“आज हामीले कागजमा सुनेको होइन, स्थलगत रूपमा हेरेका छौँ। बक्यौता अत्यधिक बढेको छ र लामो समयदेखि असुली भएको छैन,” मन्त्री श्रेष्ठले भनिन्, “अब १० देखि १५ दिनभित्र बक्यौता फर्छ्यौटको प्रक्रिया अघि बढ्छ।”
उनले हालसम्म भाडा संकलन भएअनुसार सेवा र सुविधा प्रदान हुन नसकेको स्वीकार्दै आगामी दिनमा भाडादर पुनरावलोकन गरिने बताइन्। भाडा सम्झौता नवीकरण गर्दा समयानुकूल दर निर्धारण गरी नयाँ एमओयु अनुसार अघि बढ्ने उनको भनाइ छ।
मन्त्री श्रेष्ठले फाइल खोल्ने र बन्द गर्ने औपचारिकतामा सीमित नहुने स्पष्ट गर्दै भनिन्, “हामी काम गरेर देखाउने सोचमा छौँ। बक्यौता बाँकी रहेका सबैको सूची तयार भइसकेको छ र सुरुमा व्यावसायिक प्रयोजनमा प्रयोग भएका संरचनाबाट कारबाही थालिन्छ।”













