काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौंका मेयर बालेन साहबीच सातबुँदे सहमति भयो। यस सहमतिले वैकल्पिक राजनीतिमा नयाँ मोड ल्याएको दावी गरिएको छ। तर, यस राजनीतिक गठबन्धनमा केवल सुनौलो अवसर मात्र छैन, समानुपातिक रूपमा चुनौती र जोखिम पनि छन्। रवि–बालेनको मुख्य लक्ष्य परम्परागत दलहरू—कांग्रेस र एमाले—को राजनीतिक वर्चस्व तोड्नु हो। तर रास्वपाको नीति, सैद्धान्त र एजेन्डा अझै प्रस्ट छैन। विगतको ‘हेटस्पिच’ रणनीतिले केही सिट जिताएको भए पनि यसपटक बहुमत ल्याउन सामान्य योजना पर्याप्त नहोला। मतदातालाई पुराना दलको कमजोरी देखाउनेभन्दा आफ्नै स्पष्ट र सकारात्मक योजना प्रस्तुत गर्नु आवश्यक छ।
रवि र बालेन दुवै महत्त्वाकांक्षी नेता हुन्। रवि सभापति बनेको छ भने बालेनलाई ‘उधारो’ भावी प्रधानमन्त्रीको पद दिने सहमति भएको छ। तर फरक स्वभाव, नेतृत्व शैली र महत्वाकांक्षाले सहमतिको निरन्तरतालाई चुनौती दिन सक्छ। चुनावमा परिणाम नआए यस सहमतिले द्वन्द्व र आन्तरिक विवाद जन्माउने सम्भावना उच्च देखिएको छ। बालेनले २१ फागुनको निर्वाचनमा भावी प्रधानमन्त्रीको उम्मेदवार बन्न सहमति जनाएका छन्। तर, पार्टीले बहुमत ल्याउन सक्ने छैन भने यो ‘उधारो’ सहमति केवल प्रतीकात्मक रहन सक्छ। सहमति स्थिर रहन्छ वा अवसरवादमा बदलिन्छ भन्ने प्रश्न अझै खुल्लै छ। रवि लामिछानेमाथि सहकारी ठगीसम्बन्धी पाँचवटा मुद्दा विचाराधीन छन्। बालेनसँग जेन–जी आन्दोलनको दौरान उठेका विवाद र सिंहदरबार आगजनीको प्रश्न जोडिएको छ। यी मुद्दाले मतदातामा विश्वास निर्माणमा चुनौती उत्पन्न गर्न सक्छ। विशेषगरी भावी प्रधानमन्त्रीको रूपमा बालेनले यी विवादबाट अलग रहन सक्ने अवस्था छैन।
रवि–बालेनको गठबन्धनको असली परीक्षा बलिया परम्परागत दलसँगको प्रत्यक्ष चुनावी लडाइँमा हुनेछ। कांग्रेस र एमालेको संगठन बलियो छ र उनीहरूले चुनावी अभियानमा जाने तयारीमा छन्,तर शान्ति स्थापना र सुरक्षाको ग्यारेन्टी भने निश्चित छैन्। उनीहरुले सरकारसमक्ष शान्ति–सुरक्षाको ग्यारेन्टीको माग राखेका छन् । नयाँ नेतृत्वले जनताको मन जित्ने अभियान केवल लोकप्रियता र सामाजिक सञ्जालमा अपिलमा निर्भर छैन, संगठन र रणनीतिमा बलियो योजना आवश्यक छ। विश्लेषकहरूका अनुसार, रवि–बालेनको मिलनले मतदातालाई विकल्प प्रस्तुत गरेको छ, तर यसले चुनौती पनि थपेको छ। पुराना दललाई चुनौती दिन नयाँ नेतृत्व सच्चिनु पर्नेछ, र आन्तरिक तथा बाह्य दबाबको सामना गर्न तयार हुनुपर्छ। यदि सहमति ढल्कियो वा आन्तरिक द्वन्द्व बढ्यो भने वैकल्पिक राजनीतिक अवसर धरापमा परिणत हुन सक्छ। रवि–बालेन गठबन्धन वैकल्पिक राजनीतिका लागि सम्भावित नयाँ मोड हो। सुनौलो अवसर र सकारात्मक सन्देशको बीचमा उनीहरूले आन्तरिक तालमेल, स्पष्ट नीति र विवादमुक्त नेतृत्व देखाउनुपर्ने चुनौती छ। सफल भए वैकल्पिक धारा स्थापित गर्न सक्नेछन्, असफल भए ठूलो राजनीतिक धरापको सामना गर्नुपर्नेछ।
अस्थिर राजनीति र राणाको कुर शासनका कारण १०४ वर्षपछि परेको नेपालमा २०६२/२०६३पछिको शान्ति स्थापनापछि विकासमा निकै फड्को मारेको थियो । विकासका विभिन्न पूर्वाधारण निर्माण,शहरी क्षेत्रदेखि ग्रामिणक्षेत्रसम्म सडक विस्तार,विद्युत उत्पाद र जडान,शिक्षा,स्वास्थ्य,यातायात र डिजिटलाइजेसन र प्रविधिमा जोड दिन सफल भएका लोकतान्त्रिक दलहरुप्रति नयाँ अनुहारहरुको अराजक तत्वहरुले विनासको बाटो अपनाउनु गलत विषय हो । गत भदौ २३ र २४ गते देशमा भएको जेनजी आन्दोलन र इतिहास मेटाएर पछिल्ला पुस्ताहरुलाई प्रमूख राजनीतिक दलहरुले केही गर्न नसकेको जस्तो न्यारेटिभ्स बनाइरहेका छन् । नागरिकहरुले लोकतान्त्रिक गणतन्त्र स्थापनापछिको विकास निर्माण र परिवर्तनलाई स्वमूल्याङकण गरेर सही र गलत छुटउन आवश्यक छ । देशमा शान्ति स्थापना,सुशासन र समृद्धिको मार्गदर्शन जोड्नेमाथि सबैले विश्वास दिलाउनु अहिले आवश्यकता हाे ।
रवि लामिछाने र बालेन शाहबीचका विवाद र विवादास्पद अभिव्यक्तिहरू : सहकार्यभन्दा टकरावतर्फ
नेपाली राजनीतिमा वैकल्पिक शक्तिका रूपमा उदाएका रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) शाहले पुराना दलहरूप्रति समान आलोचना गरे पनि समयक्रमसँगै उनीहरूबीच सार्वजनिक रूपमा देखिएका मतभेद र अभिव्यक्तिहरू चर्चामा रहँदै आएका छन्। सुरुवाती चरणमा एउटै राजनीतिक धारमा उभिएका यी दुई पात्र पछिल्ला घटनाक्रममा भने दूरी बढाउँदै गएको संकेत देखिन्छ।
रवि लामिछानेले पटक–पटक संसद, पार्टी संरचना र नीति निर्माणलाई केन्द्रीय विषय बनाउँदै आएका छन्। यस सन्दर्भमा उनले स्थानीय तहका केही निर्णय तथा प्रस्तुतीलाई “स्टन्टमै सीमित” हुने जोखिमबारे घुमाउरो टिप्पणी गरेका थिए। यो अभिव्यक्तिलाई धेरैले बालेनतर्फ लक्षित आलोचना माने। बालेन शाहले प्रत्यक्ष नाम नलिए पनि सामाजिक सञ्जालमार्फत “सत्ता नपाएर कराउने नयाँ अनुहारहरू” भन्ने शैलीमा प्रतिक्रिया दिए। उनको यस्तो अभिव्यक्तिलाई रवि लामिछाने र उनको दलप्रति लक्षित असन्तुष्टिको रूपमा व्याख्या गरियो। वैकल्पिक शक्तिहरूबीच सहकार्यको बहस चलिरहँदा रवि लामिछानेले ‘संस्थागत राजनीति बिना परिवर्तन सम्भव छैन’ भन्ने अडान दोहोर्याए। यसलाई बालेनको स्वतन्त्र र व्यक्तिकेन्द्रित शैलीमाथि प्रश्न उठाएको रूपमा बुझियो। उता बालेन पक्षले ‘पार्टीकरणले नै देश बिगार्यो’ भन्ने तर्क अघि सार्दै आएका छन् ।
रविको भाषाशैली अपेक्षाकृत राजनीतिक, संयमित र संरचनामुखी देखिन्छ भने बालेनको शैली तीखो, व्यंग्यात्मक र कहिलेकाहीँ आक्रामक बन्ने गरेको आलोचना हुन्छ। यही शैलीगत अन्तरले पनि विवादलाई बढावा दिएको देखिन्छ। नेताहरूका अभिव्यक्तिपछि सामाजिक सञ्जालमा दुवैका समर्थकबीच टकराव चर्किने गरेको छ। यसले व्यक्तिगत विवादभन्दा माथि उठेर ‘वैकल्पिक राजनीति’ नै विभाजित हुँदै गएको सन्देश दिएको विश्लेषकहरूको भनाइ छ।
रवि लामिछाने र बालेन शाहबीचको विवाद वैचारिकभन्दा बढी शैली, नेतृत्व दृष्टिकोण र राजनीतिक यात्राको भिन्नतासँग जोडिएको देखिन्छ। सहकार्यको सम्भावना बारम्बार उठे पनि सार्वजनिक अभिव्यक्ति र कटाक्षहरूले आपसी दूरी बढाइरहेका छन्। वैकल्पिक राजनीतिक शक्तिका रूपमा स्थापित हुने कि आपसी टकरावमै सीमित हुने भन्ने प्रश्न उनीहरूको आगामी व्यवहारमा निर्भर रहनेछ।













