काठमाडौं । पूर्वी युक्रेनको डोनेत्स्क क्षेत्रमा अवस्थित सिभेर्स्क शहर रूसको नियन्त्रणमा गएको छ। लामो समयदेखि जारी भीषण लडाइँपछि युक्रेनी सेना शहरबाट पछि हटेपछि सिभेर्स्क रूसको कब्जामा पुगेको युक्रेनी सेनाले जनाएको छ।
युक्रेनी सेनाले मंगलबार जारी गरेको विज्ञप्तिमा सैनिकहरूको ज्यान जोगाउन र एकाइहरूको लडाकू क्षमता सुरक्षित राख्न सिभेर्स्कबाट रणनीतिक रूपमा पछि हट्ने निर्णय गरिएको उल्लेख गरेको छ।
सिभेर्स्क रूसको नियन्त्रणमा गएसँगै डोनेत्स्क क्षेत्रका स्लोभियान्स्क र क्रामाटोर्स्क शहरतर्फ रूसी सेनाको दबाब अझ बढ्ने देखिएको छ। यी दुवै शहरलाई युक्रेनको नियन्त्रणमा रहेका अन्तिम ‘किल्ला–पंक्ति’ सहरका रूपमा हेरिन्छ।
ड्रोन र क्षेप्यास्त्र आक्रमण तीव्र
यसैबीच, रातभर गरिएको रूसी ड्रोन र क्षेप्यास्त्र आक्रमणमा एक बालकसहित तीन जनाको मृत्यु भएको युक्रेनी अधिकारीहरूले जनाएका छन्। पछिल्लो आक्रमणमा रूसले ठूलो संख्यामा ड्रोन र क्षेप्यास्त्र प्रयोग गरेको बताइएको छ।
युक्रेनी वायुसेनाका अनुसार रूसले रातभर ६३५ ड्रोन र ३८ क्षेप्यास्त्र प्रहार गरेको थियो, जसमध्ये ६२१ वटा खसालिएको दाबी गरिएको छ।
केन्द्रीय झिटोमिर क्षेत्रमा एक बालकको मृत्यु भएको पुष्टि गरिएको छ। किभ क्षेत्रमा एक घरमा आक्रमण हुँदा ७६ वर्षीया महिलाको मृत्यु भएको छ भने पश्चिमी युक्रेनको ख्मेलनित्स्की क्षेत्रमा ७२ वर्षीय व्यक्तिको ज्यान गएको क्षेत्रीय प्रशासनले जनाएको छ।
डोनबासमा रूसी नियन्त्रण विस्तार
सन् २०२२ फेब्रुअरीमा रूसले युक्रेनमाथि पूर्ण आक्रमण सुरु गरेयता हाल करिब २० प्रतिशत युक्रेनी भूभाग रूसको नियन्त्रणमा रहेको छ। हाल डोनेत्स्क क्षेत्रको करिब ७५ प्रतिशत र छिमेकी लुहान्स्क क्षेत्रको करिब ९९ प्रतिशत भूभाग रूसको कब्जामा रहेको बताइएको छ। यी क्षेत्रहरूलाई सामूहिक रूपमा डोनबास भनिन्छ।
रूसी आक्रमणअघि सिभेर्स्क शहरमा करिब ११ हजार जनसंख्या थियो। महिनौँसम्म चलेको लडाइँका कारण शहर प्रायः पूर्ण रूपमा ध्वस्त भएको बताइएको छ। यसअघि दुई साताअघि नै रूसले सिभेर्स्क नियन्त्रणमा लिएको दाबी गरेको भए पनि युक्रेनले त्यसलाई अस्वीकार गरेको थियो।
कूटनीतिक प्रयास निष्कर्षविहीन
रूसी राष्ट्रपति भ्लादिमिर पुटिन ले युक्रेनी सेना सम्पूर्ण डोनबासबाट नहटे बलपूर्वक नियन्त्रण लिने चेतावनी दिँदै आएका छन्। उनले युद्ध अन्त्यका लागि कुनै सम्झौतामा सहमति जनाउन अस्वीकार गर्दै आएका छन्।
अर्कोतर्फ, युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्की माथि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प को दबाब बढ्दै गएको बताइएको छ। वासिङ्टनको पहलमा भइरहेको शान्ति वार्ताका क्रममा ट्रम्पले डोनबास रूसलाई सुम्पन आग्रह गरेको समाचारहरू आएका छन्। तर जेलेन्स्कीले कुनै पनि भूभाग नत्याग्ने अडान दोहोर्याउँदै कडा सुरक्षा प्रत्याभूति माग गर्दै आएका छन्।
अमेरिकी, युक्रेनी र रूसी अधिकारीबीच छुट्टाछुट्टै बैठकमार्फत शान्ति वार्ता जारी रहे पनि हालसम्म ठोस उपलब्धि नदेखिएको जनाइएको छ।
ऊर्जा संकट गहिरिँदै
रूसी आक्रमणका कारण युक्रेनको ऊर्जा संरचनामा गम्भीर क्षति पुगेको छ। कार्यवाहक ऊर्जा मन्त्री आर्तेम नेक्रासोभका अनुसार यो वर्ष युक्रेनको ऊर्जा प्रणालीमाथि भएको नवौँ ठूलो आक्रमण हो। रिभ्ने, टेर्नोपिल र ख्मेलनित्स्की क्षेत्रमा ऊर्जा आपूर्ति लगभग पूर्ण रूपमा अवरुद्ध भएको छ।
तापक्रम माइनस ७ डिग्री सेल्सियससम्म झर्ने अनुमानसँगै युक्रेनले देशभर आपतकालीन विद्युत् कटौती हुन सक्ने चेतावनी दिएको छ।













