काठमाडौं । काठमाडौँस्थित केही कलेजहरूले अवैध शैक्षिक कार्यक्रम सञ्चालन गर्दै विद्यार्थीहरूबाट अत्यधिक शुल्क असुल गरेको र भर्ना गरिएका विद्यार्थीहरूलाई अलपत्र पारेको घटनाप्रति नेपाली विद्यार्थी संघ (नेविसंघ)ले गम्भीर ध्यानाकर्षण गरेको छ।
नेविसंघको केन्द्रीय कार्यालयद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख छ कि कलेज प्रशासनले संवादमार्फत समस्या समाधान गर्नुको सट्टा विद्यार्थीहरूलाई धम्की दिने र मानसिक दबाब सिर्जना गर्ने कार्य गरेको छ, जुन अत्यन्त निन्दनीय रहेको संघको ठहर छ।
विज्ञप्तिमा भनिएको छ कि विदेशी विश्वविद्यालयसँग सम्बन्धित कलेजहरूले लामो समयदेखि नेपालमा शैक्षिक कार्यक्रम, भर्ना संख्या, शुल्क संरचना र छात्रवृत्तिका नाममा अनियमितता गर्दै आएको गुनासो व्यापक रूपमा उठ्दै आएको छ।
यसैबीच, नेपाली विद्यार्थी संघले सम्बन्धित कलेजमाथि तत्काल छानबिन गरी आवश्यक कारबाही गर्न शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयसँग जोडदार माग गरेको छ। साथै, पीडित विद्यार्थीहरूको शैक्षिक र प्रशासनिक समस्या तुरुन्त समाधान गर्न पनि संघले कलेज प्रशासनलाई आग्रह गरेको छ।














