धरान (सुनसरी)। बराहक्षेत्र नगरपालिका–४ र ५ मा रहेको अमाह सिमसार आन्तरिक र बाह्य पर्यटकका लागि आकर्षक गन्तव्यको रूपमा स्थापित हुँदै गएको छ। करिब ५२ हेक्टरमा फैलिएको यो सिमसार हरियाली जङ्गल र प्राकृतिक भूदृश्यका कारण दैनिक हजारौँ पर्यटकको गन्तव्य बनेको छ।
अमाह सिमसारका अध्यक्ष भोजराज घलेका अनुसार सिमसारको खुला क्षेत्र, हरियाली र भित्र बनाइएका चार पोखरी मुख्य आकर्षण हुन्। पहिले जीर्ण अवस्थामा रहेका पोखरी सङ्घीय र प्रदेश सरकारको सहयोगमा जीर्णोद्धारपछि विभिन्न प्रजातिका माछाले भरिएका छन्, जसले पर्यटकलाई आकर्षित गर्दै आएको छ।
सिमसार क्षेत्रमा अमाह देवीथान मन्दिर पनि रहेको छ, जुन धार्मिक पर्यटकको प्रमुख गन्तव्य हो। उधौली–उभौलीका बेला विशेष पूजा हुने भएकाले दैनिक रूपमा भक्तजन आउने गरेको अध्यक्ष घलेले बताए।
सिमसारमा दैनिक करिब २ हजार–२५०० पर्यटक आउने गरेका छन् भने शनिबार र सार्वजनिक बिदाका दिन करिब १० हजार पर्यटक पुग्ने गरेको छ। ठूलो खुला क्षेत्र भएकाले एकैपटक ७०–८० समूहले वनभोज गर्न सक्ने क्षमता छ, जसले पिकनिक र शैक्षिक भ्रमणका लागि यसलाई लोकप्रिय बनाएको छ।
सिमसारको छेउमा सामुदायिक वन भएकोले साँझपछि हात्ती देखापर्न सक्ने भएकाले ५ः३० पछि पर्यटकलाई सुरक्षा दृष्टिले मार्गनिर्देशन गरिन्छ। सिमसारमा हरिण, बँदेल, अजिङ्गर, बाँदर, दुम्सी, चिललगायत विभिन्न वन्यजन्तु पाइन्छन्, जसले जैविक विविधता अवलोकनका लागि पर्यटक आकर्षित गर्छ।
स्थानीय आधा दर्जनभन्दा बढी व्यापारी पनि सिमसार क्षेत्रमा व्यवसाय सञ्चालन गर्दै आएका छन्। प्रदेश सरकारले २०७८÷७९ मा रु २० लाख र २०७६÷७७ मा रु १० लाख विनियोजन गरी सिमसारको कम्पाउण्ड, गेट र चिल्ड्रेन पार्क निर्माण गरेको छ। पोखरीको जीर्णोद्धार, जनावरको बासस्थान संरक्षण र सिमसारको प्रवर्द्धनका लागि प्रत्येक वर्ष संघीय र प्रदेश सरकारबाट सहयोग हुँदै आएको अध्यक्ष घलेले जानकारी दिए।













