काठमाडौं – सरकारले पटक पटक प्रदुषण हटाउने भन्दै विभिन्न योजना र कार्यक्रमहरु गर्दै आएको छ । तर नेपालमा रत्तिभर पनि प्रदुषणमा कमी आउन सकेको छैन। देशको राजधानी काठमाडौंमा पनि सरकारका यस्ता योजना र कार्यक्रमको प्रभावकारिता कम देखिएको छ । काठमाडौं उपत्यकामा प्रदुषण निम्त्याउने प्रमुख कारण हो, सवारीसाधान ।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयको तथ्यांक अनुसार मंसिरदेखी माघ १० गतेसम्मको करीब साढे दुई महिनामा मात्र मापदण्डभन्दा बढी धूँवा फाल्ने २ सय ५८ सवारीसाधन प्रहरीले कारबाहीमा परेका छन् । मापदण्डभन्दा बढी धूँवा फाल्ने भाडाका बस, मिनी बस, माइक्रोबस, पिकअप भ्यान कार, विभिन्न संघसस्था लगायतका २ सय ५८ वटा सवारीसाधन कारबाहीमा परेका हुन् ।
कार्यालय र वातावरण विभागले मंसिर ७ गतेदेखी अभियान नै संचालन गरेर काठमाडौँ उपत्यकाको विभिन्न स्थानमा छड्के सवारी प्रदुषण चेक गर्दै आएको छ । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय प्रवक्ता राजेन्द्रप्रसाद भट्टका अनुसार अभियान शुरु भएदेखी हालसम्म ६ सय ४५ भन्दा बढी सवारीसाधनको प्रदुषण चेक गरिएको छ ।
मंसिरयता सुरु गरिएको अभियान पौष महिनाबाट झन् कडाईका साथ लागु गरिएको ट्राफिक कार्यालयको दाबी छ । त्यसयता सातामा दुई पटकसम्म छड्के चेकजाँच र एकचोटी पुनः सवारी चेकजाँच गर्दै आएको भए पनि सवारीबाट हुने प्रदुषणमा कमी आएको छैन । बढि धूँवा फाल्ने सवारीका कारण वायु प्रदुषण बढ्न गइ मानव स्वास्थ्यमा गम्भीर समस्या हुनुका साथै दुर्घटनाको जोखिम समेत हुने भएकाले अभियानै संचालन गरेर प्रदुषण कारबाहीलाई तिब्रता दिन र यसको नियमित अनुगमन गर्न सर्वसाधारण सुझाउँछन् ।
उपत्यकामा गुड्ने धेरै सवारीसाधनले मापदण्डभन्दा बढी धूँवा फाल्ने गरेको वातावरण विभागले पनि स्वीकारेको छ । विभागसँग अहिले दुईवटा मात्र प्रदूषण परीक्षण गर्ने मेसिन छ । यो अपर्याप्त भएको र दैनिक ५० हाराहारीमा मात्र सवारीको जाँच गर्न सकिने विभागले जनाएको छ । विभागले अभियानलाई जारी राखेर लापरबाही गर्ने उपर बढी शुल्कको जरिवाना लगाउने पक्ष लिएको छ ।
वातावरण विभागका अनुसार ६५ प्रतिशत भन्दा बढि अङ्क ल्याएका सवारीसाधन प्रदूषण जाँचमा फेल मानिन्छ । यस्ता सवारी तुरुन्त मर्मत गर्न निर्देशन दिइन्छ । ६५ प्रतिशत भन्दा कम अङ्क ल्याएका सवारीसाधनलाई भने विभागले प्रदूषण पास मानेर क्लिन चिट दिने गरेको छ । विभाग अनुसार पुनः परिक्षणमा पास नभए सुरुमा ५ हजार र त्यसपछि १ लाखसम्म जरिवाना हुने गर्दछ ।













