पोखरा — अमेरिकी राजदूत डिन थम्पसन आज गण्डकी प्रदेशमा स्वास्थ्य मन्त्रालयका अधिकारीहरू, फ्रन्टलाइन स्वास्थ्यकर्मीहरू तथा सेवाग्राहीहरूसँग भेट गर्नुभएको छ। भेटवार्तामा नेपालले स्वास्थ्य क्षेत्रमा आत्मनिर्भरता हासिल गर्ने लक्ष्यअनुसार हालसम्मको प्रगति, चुनौती तथा आगामी प्राथमिकताहरूबारे विस्तृत छलफल गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

राजदूत थम्पसनले स्वास्थ्य सेवामा नवीनता, सेवा पहुँचको विस्तार, तथा दीर्घकालीन आत्मनिर्भरता सुनिश्चित गर्ने उद्देश्यले नेपालका स्वास्थ्य प्रणालीलाई सुदृढ गर्न अमेरिकाको निरन्तर प्रतिबद्धता रहेको स्पष्ट गर्नुभयो।
अमेरिकाद्वारा प्रदान गरिँदै आएको सहयोगले नेपालमा जीवनरक्षा, स्वास्थ्य क्षेत्रको आधुनिकीकरण, जनस्वास्थ्य संरचनाको मजबुतीकरण, तथा आपत्कालीन स्वास्थ्य चुनौतीहरूको महत्वपूर्ण योगदान दिइरहेको उल्लेख गरिएको छ।

राजदूत थम्पसनले नेपालमा मजबुत र प्रभावकारी स्वास्थ्य प्रणाली विकास हुनु केवल नेपालका लागि मात्र होइन, क्षेत्रीय स्वास्थ्य सुरक्षा तथा अमेरिकाको स्वास्थ्य सुरक्षा दुवैका लागि लाभदायी हुने टिप्पणी गर्नुभयो।

स्वास्थ्य क्षेत्र सुधार तथा आत्मनिर्भर स्वास्थ्य प्रणाली निर्माणका लागि दुवै देशबीचको सहकार्य आगामी दिनमा अझै गहिरो रूपमा अघि बढ्ने अपेक्षा गरिएको छ ।













