काठमाडौं । नेपाल–चीन सीमामा अवस्थित ल्हेन्दे खोलाको मितेरी पुल पुनःनिर्माणको काम अन्तिम चरणमा पुगेको छ। चीन सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा निर्माण भइरहेको बेलिब्रिज (अस्थायी झोलुङ्गे पुल) अब शीघ्र सञ्चालनमा आउने तयारीमा छ।
गत असार २४ गते आएको बाढीले सो ठाउँको पक्की मोटरेबल पुल बगाएपछि चीनले पुनःनिर्माणका लागि सहयोग गर्ने घोषणा गरेको थियो। हाल पुलका सबै आवश्यक पार्टपुर्जा जडान भइसकेका छन् र पिलर पनि ठड्याइएको छ।
निर्माणस्थलमा रहेका प्राविधिक स्रोतका अनुसार पुलको वारीपारीको भाग जडान पूरा भइसकेको छ भने बीच भागमा केही लचकपन देखिएपछि त्यसलाई मजबुत बनाउन खोलाको माझमा थप पिलर निर्माणको काम सुरु गरिएको छ।
प्रमुख जिल्ला अधिकारी राजेश पन्थीका अनुसार, कात्तिक १५ गतेसम्म मितेरी पुल सञ्चालनमा आउने सम्भावना छ। उनले भने, “पुल निर्माण अन्तिम चरणमा पुगेको छ, तर सीमाक्षेत्रका चिनियाँ समकक्षी निकायबाट आधिकारिक सञ्चालन मिति भने अझै प्राप्त भएको छैन।”
ल्हेन्दे खोलाको यो मितेरी पुल नेपाल–चीन सीमामा आवागमन र आपसी व्यापारका दृष्टिले अत्यन्त महत्वपूर्ण मानिन्छ।













