काठमाडौँ। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले मन्त्रालय र मातहतका निकायका कामबारे विस्तृत जानकारी लिएका छन्।
केशरमहलस्थित मन्त्रालयमा सोमबार कार्यभार सम्हालेका मन्त्री पुनले आज सचिवद्वय चूडामणि पौडेल र विश्वबाबु पुडासैनीसहित महाशाखा प्रमुख तथा सम्बन्धित निकायका प्रमुखसँग ‘ब्रिफिङ’ गरेका हुन्।
मन्त्रालयका प्रवक्ता शिवकुमार सापकोटाका अनुसार मन्त्री पुनले विज्ञान र प्रविधि क्षेत्रमा स्रोतसाधन बढाउनुपर्ने र विद्यालयस्तरमै कम्प्युटर शिक्षा अनिवार्य गर्नुपर्नेमा जोड दिएका छन्।
उनले पदबहालीका क्रममा विज्ञान–प्रविधि क्षेत्रमा सुझाव दिने गरी चारवटा सल्लाहकार समिति गठन गर्ने प्रस्तावलाई स्वीकृति दिएका छन्।
यसैबीच, मन्त्री पुनको इच्छाअनुसार मन्त्रालय परिसरमै आवासको व्यवस्था गर्ने तयारी प्रशासनले गरेको छ। आफू जहाँ काम गर्छु, त्यहीँ बस्ने बानी रहेको उल्लेख गर्दै उनले सुत्ने खाट र भान्छाको व्यवस्था मिलाउन निर्देशन दिएका छन्।













