काठमाडौं, काठमाडौं महानगरपालिकाले राजस्व संकलनलाई थप प्रभावकारी बनाउने उद्देश्यले कामपाको राजस्व सफ्टवेयरसँग एनआईसी एसिया बैंकको सफ्टवेयर परीक्षणका लागि एकीकृत गरेको छ ।
कामपा–५ बाट शुरू गरिएको सफ्टवेयर परीक्षण कार्य प्रभावकारी भए ३२ वटै वडामा सेवा विस्तार गर्ने कामपा राजस्व विभागका प्रमुख डा। शिवराज अधिकारीले जानकारी दिए ।
सफ्टवेयर एकीकृत गरेपछि सेवाग्राहीले राजस्व, शुल्क तथा दस्तुर तिर्दा बैंक भौचर भरिरहनु पर्दैन । ‘वडाको लेखाशाखामा विवरण भरेपछि सोही विवरणका आधारमा बैंक भौचर सिर्जना हुन्छ र बैंकमा अनलाइन पेमेन्ट सिस्टमबाट पैसा तिर्न सकिन्छ,’ उनले भने ।
सम्पत्ति कर, घरबहाल कर, व्यवसाय कर, विज्ञापन कर, मनोरञ्जन कर, भूमिकर, मूल्य अभिवृद्धि कर र सवारीसाधन करसहित ३६ शीर्षकमा कामपाले राजस्व असूल गर्दै आएको छ । कामपाले चालू आर्थिक वर्षको पुस १५ गतेसम्ममा लक्ष्यको ४१ प्रतिशत राजस्व असूल गरिसकेको छ ।
चालू आवका लागि कामपाले १० अर्ब ३९ करोड रुपैयाँ राजस्व असूल गर्ने लक्ष्य लिएकामा हालसम्म ४ अर्ब ३४ करोड असूल गरिसकेको छ । गत वर्षको तुलनामा सोही अवधिमा यस वर्ष १ करोडले बढी राजस्व असूल भएको कामपा राजस्व विभाग प्रमुख डा। अधिकारी बताउँछन् ।
विगतको वर्षमा कोरोनाका कारण राजस्व असुलीमा केही समस्या आएपनि यस वर्ष हालकै अवस्थामा राजस्व असुल भए लक्ष्यमा पुग्न कुनै समस्या नहुने डा। अधिकारीको भनाइ छ ।
यस वर्ष कामपाका लागि बाह्य अनुदान रकम कम छ । आन्तरिक राजस्व असुलमा खासै समस्या नभएको विभागले जनाएको छ । पछिल्लो समय कमपाले राजस्व संकलनका लागि थप कडाइ गरेसँगै लामो समयदेखि उठ्न नसकेको बक्यौता रकम असूलउपर गर्न सहज भएको बताइएको छ ।
रासस













