काठमाडौं – नेपालमा सडक दुर्घटनाको सङ्ख्या दिनहुँ बढिरहेको छ । सवारी चालक, यात्रु र अस्तव्यवस्त सडकका कारण दैनिक कुनै न कुनै दुर्घटना भइरहेका हुन्छन् । आईतवार मात्रै सुर्खेतमा डबल क्याप गाडी दुर्घटना हुँदा चार जनाको मृत्यु भयो भने गम्भिर घाईते एक जनालाई हेलिकप्टर मार्फत काठमाडौं ल्याएर उपचार गर्नुपर्यो । यो त एउटा प्रतिनिधि घटना मात्र हो ।
नेपालमा वार्षिक २८ हजार बढी सडक दुर्घटना हुने गरेको नेपाल प्रहरीको तथ्याङक छ । जसमा कम्तिमा पनि २ हजार ५ सय जनाले ज्यान गुमाउने गरेका छन् । पछिल्लो साढे सात वर्षमा मात्रै २ लाख १० हजार एक सय ८३ सवारी दुर्घटना भएका छन् । जसमा १८ हजार नौ सय १८ ले ज्यान गुमाए भने ३७ हजार पाँच सय ८१ गम्भीर घाइते भए । चालु आर्थिक वर्षको पछिल्लो ६ महिनाको अवधिमा काठमाडौंमा बढी दुर्घटना भएको प्रहरीले बताएको छ ।
नेपालमा प्रत्येक दिन ६.९ जनाले सवारी दुर्घटनामा ज्यान गुमाउने गरेका छन् । क्षतिको यो तथ्यांक केन्द्रले प्रहरीमा दर्ता भएका घटनालाई मात्रै आधार मानेर निकालेको हो । केन्द्रका अनुसार प्रहरीमा कुल सवारी दुर्घटनाको १९.७ प्रतिशत मात्रै घटना दर्ता हुन्छन् । त्यसो त नेपालमा दुर्घटना पश्चात अनुगमन समिति बन्ने गरेको छ । उनीहरुले दुर्घटनाको कारण पत्ता लगाउछन र प्रतिवेदन बुझाउछन् । तर, त्यसको न्यूनीकरणमा सरकारको ध्यान पुग्न नसकेको पूर्व प्रहरी अधिकारीहरुको भनाई छ ।
नेपालमा सवारी आयात नीति, गलत, सडक र सवारीको अध्ययन नगरि सवारी चलाउने अनुमति दिँदा दुर्घटना बढी हुने गरेको उनीहरुको भनाई । सबैभन्दा धेरै दुर्घटना महेन्द्र राजमार्ग आसपासका क्षेत्रमा हुने गरेको छ । राजमार्गमा चालकले उच्च गतिमा सवारी साधन चलाउने हुँदा हुँदा मर्नेको दर पनि उच्च रहने प्रहरीको भनाइ छ । सर्वसाधारण यात्रु र चालकले सवारी नियम पालना नगर्दा पनि नेपालमा यस्ता दुर्घटना बढी हुने गरेको छ । यसका लागि आम सर्वसाधारण आफू पनि सजग हुन आवश्यक देखिन्छ ।













