काठमाडौं । सरकार गठन हुनेबेलामा काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले राप्रपादेखि माओवादी केन्द्रसमेत मिलेर सरकार बनाएको विषयमा आलोचनात्मक टिप्पणी गरेका थिए ।
मेयर शाहले भनेका थिए,‘राजा फर्काउछु भन्ने, राजा चाहिन्न भन्ने, र , राजा मार्छु भन्ने तीनटै सरकारमा । हामी प्रजा सधै सास्तीमा ।’ मेयर शाहको अभिव्यक्तीले चौतर्फी चर्चा समेत पाएको थियो ।
मेयर बालेनले भनेजस्तै अहिलेको सरकारमा अहिलेको व्यवस्थाविरोधीदेखि व्यवस्थाको मसिहा ठान्ने माओवादी केन्द्र समेत सहभागी छ । नेकपा एमालेलाई समेत व्यवस्थाविरोधी आरोप लगाएका माओवादी अध्यक्ष प्रचण्ड अहिले एमालेकै समर्थनमा सरकारको नेतृत्व गरिरहेका छन् ।
त्यसबाहेक अहिलेको व्यवस्था नै गलत रहेकाले राजतन्त्र आवश्यक हुने एजण्डा बोकेको राप्रपा समेत सरकारमा सहभागी छ । अध्यक्ष राजेन्द्र लिङ्देन प्रचण्डका सहयात्री बनेका छन् । उनलाई सरकारमा ल्याउन आफैले कटौती गरेको पृथ्वीजयन्तीको सार्वजनिक विदा दिन समेत प्रचण्ड तयार भए । यता प्रदेश अनावश्यक रहेको निष्कर्षसहित प्रतिनिधिसभा सदस्यका लागि मात्रै उम्मेदवारी घोषणा गरेको राष्ट्रिय स्वतन्त्र पार्टीसमेत सरकारमा सहभागी छ ।
यसअघिको गठबन्धनमा रहेका सबै दलहरु अहिलेको व्यवस्थाका पक्षधर थिए । तर एमालेले नेतृत्व गरेको चुनावताकाको गठबन्धनमा भने राप्रपा थियो । त्यसबेलामा अहिलेका प्रधानमन्त्री प्रचण्डले एमाले नेतृत्वको गठबन्धनलाई प्रतिगामी भएको आरोप समेत लगाएका थिए । तर अहिले भने उनी आफैले प्रतिगामी भनेको गठबन्धनसँग मिलेर सरकार चलाइरहेका छन् ।
कांग्रेसले समेत विश्वासको मत दिएपछि वलियो बनेका प्रचण्ड अहिले भने सरकारमा बसेर गणतन्त्रको विरोध गर्ने अधिकार मन्त्रीहरुलाई नभएको सन्देश दिन थालेका छन् । त्यसको शुरुवात भने प्रचण्डले राप्रपा उपाध्यक्ष समेत रहेका ध्रुवबहादुर प्रधानबाट शुरु गरेका छन् ।
प्रधानमन्त्री प्रचण्डले मन्त्रीहरुलाई गणतन्त्रको विरोध गर्ने अधिकार नरहेको सन्देश दिन खोजेको जस्तो देखिएको छ । तर उनको यो सन्देश भने सार्वजनिक खपतका लागि मात्रै हुनसक्ने समेत देखिन्छ । किनकि गणतन्त्र पक्षधर दलहरुलाई पाखा लगाउँदै एमालेको शरणमा पुगेका प्रचण्डलाई राप्रपा र रास्वपाको समर्थन पाउन समेत एमालेकै भूमिका महत्वपुर्ण थियो ।













