विश्व राजनीतिमा नेताहरूका निर्णयहरूले देशको दिशा परिवर्तन गर्छन्। तर, उनीहरूको जीवनसाथी—फर्स्ट लेडी वा प्रधानमन्त्रीका पत्नीहरूले—अर्कै किसिमले प्रभाव जमाइरहेका छन्। उनीहरूको मुस्कान, उपस्थिती, अनि पहिरनले शक्तिको सौन्दर्य र सन्देशलाई नयाँ स्वर दिन्छ। कतिपय अवस्थामा त तिनको स्टाइलले राजनीतिक नीतिभन्दा बढी हेडलाइन बनाइदिन्छ।
आज, कपडा ब्रान्ड कायाले गरेको अध्ययनले देखाएको छ कि आधुनिक समयमा पनि त्यस्ता व्यक्तित्वहरू छन् जसले फेशनलाई राजनीतिक र सांस्कृतिक प्रभावसँग जोडिरहेका छन्।
यस अध्ययनले पाँच सूचकका आधारमा मूल्याङ्कन गरेको हो—अनलाइन खोज, फेशन पत्रपत्रिकामा उल्लेख, सामाजिक सञ्जालमा ह्यासट्याग, ब्रान्ड साझेदारी, र फेशन शो उपस्थितिलाई आधार बनाइएको छ। प्रत्येक जीवनसाथीलाई ० देखि १० अंकसम्म दिइएको छ।

मेलानिया ट्रम्प : फर्स्ट लेडीदेखि फेशन आइकनसम्म
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पकी पत्नी मेलानिया ट्रम्पलाई अध्ययनले संसारकै सबैभन्दा प्रभावशाली फर्स्ट लेडी घोषणा गरेको छ। महिनामा झन्डै १० लाख मानिसले उनको पहिरनका लागि गुगल गर्छन्। करिब १० हजार फेशन म्यागजिनले उनको शैलीलाई पानामा उतारेका छन्।
न्यूयोर्कको रनवेमा देखिने झलझल्को मेलानियाको प्रत्येक उपस्थितीमा झल्किन्छ—सजिलै देखिने ग्ल्यामर र सावधानीपूर्वक तयार गरिएको सार्वजनिक छवि। उनी फर्स्ट लेडी मात्र होइनन्, विश्व फेशन रंगमञ्चमा शक्तिशाली पात्र हुन्।
ब्रिजिट म्याक्रोन : पेरिसको स्टाइल, विश्वकै ध्यान
फ्रान्सकी फर्स्ट लेडी ब्रिजिट म्याक्रोन युरोपकै सबैभन्दा चर्चित फर्स्ट लेडी हुन्। उनको शैली महिनामा १५ लाख पटक खोजिन्छ—यो संख्या फेशनमा उनको प्रभावको प्रमाण हो।
एलिगेन्ट फ्रेन्च काट, सरल तर प्रखर रंग संयोजन, र अनौठो आत्मविश्वास। पेरिसका सडकदेखि संयुक्त राष्ट्रसंघको डेलिगेशनसम्म, ब्रिजिटको उपस्थिति सधैँ ‘फ्रेन्च चिक’ को प्रतिक बनेर आउँछ।
जान्जा दा सिल्भा : ब्राजिलको रंगीन ऊर्जा
ब्राजिलकी फर्स्ट लेडी जान्जा दा सिल्भा लाटिन अमेरिकी फेशनको जीवित प्रतीक हुन्। उनका कपडामा स्थानीय ब्रान्ड मिस्सी र रेप्टिलियाको छाप देखिन्छ। महिनामा १ लाख ३५ हजार पटक उनको शैली खोजिन्छ र ८० हजारजति सामाजिक सञ्जाल पोस्टमा चर्चा हुन्छ।
उनको पहिरनमा ब्राजिलको सांगीतिक ताल, कार्निभलको रौनक र आधुनिक राजनीतिक आत्मविश्वास मिसिएको हुन्छ।
ओलेना जेलेन्स्का : युद्धबीचको सौन्दर्य
युक्रेनकी फर्स्ट लेडी ओलेना जेलेन्स्का, युद्धग्रस्त मुलुकको प्रतिनिधित्व गर्दै पनि फेशन जगतमा उचालिएकी छन्। उनको शैली महिनामा १ लाख ३५ हजार पटक खोजिन्छ।
साधारण तर शक्तिशाली पहिरन—धैर्य, साहस र नेतृत्वको भाव बोकेको। उनको स्टाइलले संसारलाई सम्झाउँछ—फेशन विलासितामात्र होइन, प्रतिरोध र आशाको भाषासमेत हुन सक्छ।
नयाँ नामहरूको उदय
ब्रिटेनकी भिक्टोरिया स्टार्मर, स्पेनकी मारिया बेगोना गोमेज, अर्जेन्टिनाकी युइटो गोन्जालेज, चीनकी पेङ लियुआन, यूएईकी शेखा हिन्द, र इस्रायलकी साराह नेतान्याहु—यी सबैले आफ्ना ढंगले फर्स्ट लेडी फेशनलाई नयाँ अर्थ दिएका छन्। कसैको पहिरनमा परम्परा झल्किन्छ, कसैकोमा आधुनिकता। कसैको उपस्थितीमा लक्जरी ब्रान्डहरूको चमक हुन्छ भने कसैको शैलीमा मातृत्व र आत्मीयता।
फर्स्ट लेडी र फेशनको राजनीति
काइयाका प्रवक्ताले भनेझैँ, फर्स्ट लेडीहरूको कपडा केवल व्यक्तिगत रोजाइ मात्र होइन, राष्ट्रिय छविको प्रतिबिम्ब हो। उनीहरूले लगाएको प्रत्येक पहिरनले आफ्ना देशका मूल्य, संस्कार र विश्वलाई दिन चाहेको सन्देश बोकेको हुन्छ।
ज्याकी केनेडीका कालातीत सूटदेखि कार्ला ब्रुनीका आकर्षक सिलुएटसम्म, इतिहासले देखाइसकेको छ कि फर्स्ट लेडीहरूको शैली विश्वव्यापी फेशन मान्यतामा प्रत्यक्ष असर पार्छ।
आज, मेलानिया, ब्रिजिट, जान्जा वा ओलेना—यी सबै आधुनिक युगका कूटनीतिज्ञ शैली हुन्। उनीहरूको रनवे भनेको केवल पेरिस वा मिलानका मञ्च होइनन्, बरु संयुक्त राष्ट्रसंघको कोरिडोर, राष्ट्रपतिको आधिकारिक भोज, वा युद्धपीडित मुलुकको मानवीय अभियानसमेत हो।













