१. पापीका सँगमा रहँदा निरपराध सज्जनले पनि त्यसरी नै दण्डको भागी हुन्छ, जसरी सुकेका दाउरासँग चिसा पनि जल्दछन् । अतः दुष्ट मानिसका साथमा बस्नु र मेल गर्नु हुँदैन ।
२. त्यो मित्र होइन जो रिसाउँदा डर लाग्छ, अथवा जोसँग शंकाले नै व्यवहार गरिन्छ । मित्र उही हुन्छ जसमा पितामाझै विश्वास हुन्छ । अरु त सङ्गत वा साथी मात्र हुन्छन् ।
३. जो व्यक्ति कुनै सम्बन्ध नराखे पनि मित्रभावले व्यवहार गर्दछ, उही वास्तवमा बन्धु हुन्छ । उही आश्रमको रुप हुन्छ । उही परमगति हुन्छ । अर्थात् यस्ता व्यक्तिसँग नै आवश्यकता पर्दा सहयोग प्राप्त हुन सक्दछ ।
४. धन होस् वा नहोस्, मित्रसँग कहिल्यै नमाग्नु । सम्भव भएसम्म मित्रको सत्कार गर्नु । मागेर उनको परीक्षा गर्नु उचित छैन ।
५. जुन दुई व्यक्तिको चित्तसँग चित्त मिल्छ, बुद्धिसँग बुद्धि मिल्छ, गोप्य रहस्यसँग गोप्य रहस्य मिल्छ, तिनको मित्रता स्थायी हुन्छ ।
६. मूर्ख र कृतघ्न व्यक्तिलाई फोहोरले पुरिएको इनारलाई झैँ त्यागी दिनुपर्छ, किनकि त्यस्ता व्यक्तिसँग गरिएको मित्रता स्थायी हुँदैन ।
साभारः ‘महापुरुषहरुका अमर वाणी’ पुस्तकबाट













