भोजपुर। हतुवागढी गाउँपालिका–६ होम्ताङका स्थानीयले बाँसको नाङ्लो बुनेर मनग्य आम्दानी गर्दै आएका छन् । परम्परागत पेसा व्यावसायिक रूप लिएपछि यो क्षेत्रका अधिकांश परिवारको भरपर्दो आयस्रोत बनेको छ ।
स्थानीय पूजा राईका अनुसार उनका परिवारका सबै सदस्य नाङ्लो बुन्छन् । एक महिनामा १५० वटासम्म बुन्ने र प्रतिगोटा रु ११०–१२० मा घरबाटै बिक्री हुने उनले बताइन् । यसरी वार्षिक दुईदेखि तीन लाख रुपैयाँसम्म आम्दानी हुने गरेको छ ।
होम्ताङका लङ्खा, विथारा, लुम्बुवा र सोयागाउँ मिलाएर करिब ४१५ घरपरिवार नाङ्लो बुनेर जीविकोपार्जन गर्दै आएका छन् । स्थानीय व्यवसायी राजेन्द्र राईका अनुसार उत्पादन भएका नाङ्लो पश्चिम नेपालका विभिन्न स्थान र भारतसम्म पठाइन्छ ।
व्यवसायी प्रकाश राईले नाङ्लो उद्योगलाई अझ व्यावसायिक बनाउन राज्य र स्थानीय तहको प्रोत्साहन आवश्यक रहेको बताए । उनका अनुसार यस पेसाले गाउँघरमा पर्याप्त आम्दानी भित्र्याइरहेकाले सरकारी सहयोग भए अझ ठूलो आयस्रोत बन्न सक्ने छ ।













