पोखरा, ९ माघ । म्याग्दीको मङ्गला गाउँपालिका–२ काफलचौरमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
थाइवाङबाट बेनीतर्फ जादै गरेको ग १ ज ६९३८ नं को बोलेरो जीप सोमबार अन्दाजी ११ ः ३० बजे काफलचौरको उकालोमा दुर्घटना हुँदा मङ्गला–१ की ६० वर्षीया फौमाया गर्बुजाको मृत्यु भएको हो ।
दुर्घटनामा सात जना घाइते भएका छन् । घाइते मध्ये तीन जनालाई उपचारको लागि पोखराबमे मणिपाल शिक्षण अस्पताल लगिएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ ।
प्रहरी निरीक्षक राजन ढकालका अनुसार घाइते दुई बालिकासहित तीन जनालाई थप उपचारका लागि मणिपाल लगिएको हो । पोखरा रिफर हुनेमा मङ्गला–२का पाँच वर्षीय रिवान केसी, १० वर्षीया सिवानी केसी र ३४ वर्षीया सन्तु केसी रहेका छन् ।
मङ्गला–१ की १५ वर्षीया बबिना परियार र ३८ वर्षीय तेजबहादुर गर्बुजा, मङ्गला–२ की २२ वर्षीया विपना कार्की र ५० वर्षीया भूमिकला नेपालीको बेनी अस्पतालमा उपचार भइरहेको छ । प्रहरीले जीप चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान शुरु गरेको छ ।













