नारी र नरको शरीर निर्माणमा फरक भएको हुनाले चिन्तनमा पनि फरक रहन्छ, त्यही कारणले बच्चा जन्माउन जननेन्द्रिय सुमसुम्याउन वाहेक पारस्परिक सम्बन्धको लामो समयमा गम्भीर उपयोग रहँदैन किनभने त्याग भए त्यो चाहिएन त्यो चाहियो त्यति मात्रामा त्यागको अभाव छँदै छ ।
ठाउँमा बस्ने आदत मनको स्थिरताको दर्शन होइन, अमुक भन्ने रहेसम्म विक्षेपका लहरा उरिहन्छन्, उपस्थको लालनपालन र अभिमानको कुरा सुनेसम्म निरालम्ब निर्विकल्प, निस्पृह जीवन आउँदैन ।
आफ्नो आदतले र पुराना व्यक्तिहरूले परिचित क्रम र विक्षेप ल्याइरहन्छन् । आफ्नो शरीरसम्बन्धी आदत एवं मनमा उठने इच्छा, अपेक्षावाहेक भित्र या बाहिर अरू केही समस्या या प्रपञ्च रहँदैन । धन, व्यक्ति, स्थानका साथले प्राप्त स्मृति र कल्पनाको उपेक्षा, निरोध र परिहार अत्यन्त आवश्यक छ । ऋतु बदलिए झैं शरीर भएसम्म सम्पर्क यात्राहरू भइरहनेछ, उस्तै व्यक्ति उस्तै विक्षेप, उस्तै आनन्द, उस्तै खल्लोपन आइरहनेछन् । नआउनु भनेर सोच्नु नै अज्ञान र मूर्खता हो ।
साधनको चरम परिणति नै साध्य हो । अपवित्र, पक्षपातपूर्ण, अनुचित र अनीतिपूर्ण साधनद्वारा शुद्ध पवित्र लक्ष्यको प्राप्ति सम्भव छैन । सत्यको कुरा बुझ्नेले साधन, साध्य र सिद्धिको अर्थ सम्झनुपर्छ । स्मृतिलाई श्वासमा राख्ने दृढ प्रयत्न गर्नुपर्छ । परम्पराहरूको, अन्वेषण गरेर सार्थक प्रस्न गर्न सक्नुपर्छ । मूर्खताहरूको त्याग गर्ने एवं उपेक्षा गर्ने क्षमता ल्याउनुपर्छ ।
साभारः ‘विचारप्रवाह’ पुस्तकबाट













