काठमाडौं । मिस लिटल आइडोल २०२३ की विजेता तथा क्याम्ब्रिज पब्लिक हाइस्कुल कक्षा ९ मा अध्ययनरत छात्रा सोशिका बस्नेतले मिस लिटल आइडोल २०२५ ओरियन्टेशन कार्यक्रममा सहभागी बालिकालाई आत्मविश्वासी बन्न आग्रह गरेकी छिन्।
बस्नेतले कार्यक्रममा आफूले प्रतियोगिताबाट प्राप्त अनुभव साझा गर्दै भनिन्, “पहिला मलाई अगाडि आएर बोल्न गाह्रो लाग्थ्यो तर मिस लिटल आइडोलमा सहभागितापछि मभित्र आत्मविश्वास बढ्यो। असफलता अन्त्य होइन, सफलताको पहिलो पाइला हो भन्ने मैले बुझें।”
उनले मिस लिटल आइडोलले बालिकाको चौतर्फी विकासमा महत्वपूर्ण योगदान पुर्याउँदै आएको बताउँदै सहभागी सबैलाई निरन्तर प्रयास गर्न प्रेरित गरिन्।
बस्नेतले आफ्ना पछिल्ला उपलब्धिहरु प्रस्तुत गर्दै राष्ट्रिय सेवा दल (जुनियर डिभिजन) कार्यक्रमअन्तर्गत सार्वजनिक वक्तृत्वकला (Public Speaking) मा प्रथम स्थान तथा अन्य दुई विधामा उपाधि हात पार्न सफल भएको उल्लेख गरिन्।
बस्नेतले प्यास्ब्सन काठमाडौं अन्तर्गत कार्यक्रमको नेतृत्वदायी भूमिका निवार्ग गरिरहेकी क्याम्ब्रिज पब्लिक हाइ स्कुलकी प्रधानाध्यापक रीता राई दाहालको योगदानप्रति उच्च सम्मान प्रकट गरेकी थिइन् ।

यस्तो छ मन्तव्य
नमस्कार यहाँ उपस्थित सम्पूर्णमा,
क्याम्ब्रिज पब्लिक हाइस्कुलको कक्षा ९ मा अध्ययनरत छात्रा, मिस लिटल आइडोल २०२३ की विजेता म सोशिका बस्नेतको तर्फबाट स्वीकार्नुहोस् न्यानो अभिवादन ।
सर्वप्रथम त केही नयाँ गर्ने जोस र जाँगरका साथ यस मिस लिटल आइडोल २०२५ मा सहभागिता जनाउन उपस्थित हुनुभएका सम्पूर्ण बहिनीहरुलाई आजको यस ओरिन्टेशन प्रोग्राममा स्वागत छ । त्यसैगरी आफ्ना छोरीहरुको प्रतिभा उजागर गर्नका लागि यहाँसम्म ल्याइदिनुहुने अभिभावकमा उच्च सम्मान प्रकट गर्दछु ।
विगत १३ वर्षदेखि सञ्चालन हुँदै आएको यो मिस लिटल आइडोल प्रतियोगिता हामी बालिकाहरुको चौतर्फी विकासमा सहयोग पु-याउने प्लाटफर्म हो । त्यसको प्रत्यक्ष उदाहरण मैले आफूलाई लिने गरेकी छु ।
यदि यहाँहरुले मिस लिटल आइडोलमा सहभागि हुनुअघिको ‘म’ र अहिलेको ‘म’लाई हेर्नुभयो भने धेरै फरक पाउनुहुनेछ । पहिला मलाई यसरी अगाडि आएर बोल्न धेरै नै गाह्रो लाग्थ्यो । जब मैले कक्षा ६ मा पढ्दा पहिलो वर्ष मिस लिटल आइडलमा सहभागी जनाएँ, मैले धेरै कुराहरु सिकेँ । सबैभन्दा महत्वपूर्ण कुरा त मैले म भित्रको म लाई चिन्ने मौका पाएँ । म मा आत्मविश्वास बढ्यो र त्यसलाई मैले प्रयोग गर्दै गएँ । कक्षा ७ मा पढ्दै गर्दा पुनः दोस्रो पटक सहभागी जनाएर मिस लिटल आइडोलको ताज पहिरिन सफल भएँ ।
मूलभूत रुपमा यो यात्राबाट मैले दुईवटा कुरा सिकेँ । पहिलो— हार पटक्कै नखानु र दोस्रो आफ्नो असफलताबाट नयाँ कुरा सिक्नु । Remember Success comes from Experience and experience comes from bad experience.
मिस लिटल आइडोलको विजेता भएको दुई वर्ष भयो तर म यत्तिकै चुप लागेर बसेकी छैन । विद्यालयस्तरका प्रोग्रामहरुमा सहभागिता जनाउँदै आएकी छु र केही न केही उपलब्धि हासिल गरीरहेकी छु । अघिल्लो वर्ष मात्र सम्पन्न भएको ल्ऋऋ (श्री राष्ट्रिय सेवा दल) जुनियर डिभिजनको पचासौँ ब्याच अन्तर्गत वर्दिवासमा सहभागी ५६४ जना क्याडेट बीच मैले पब्लिक स्पिकिङमा प्रथम स्थान हासिल गर्न सफल भएँ । स्याण्ड मोडल ब्रिफिङमा तेस्रो स्थान हासिल गरेँ । त्यतिमात्र होइन Platoon Junior under Officer को फुली लगाउन पनि सफल भएँ । त्यहाँका सिनियर गुरुहरुले भन्नुभए अनुसार एउटै क्याडेटले तीनवटा उपाधि हात पार्नु निकै कठीन कुरा थियो । जुन मैले प्राप्त गर्ने अवसर पाएको थिएँ । यी सबै मिस लिटल आइडोल भएपछिका उपलब्धिहरु हुन् ।
असफलता अन्त्य होइन, सफलताको पहिलो पाइला हो । मेरो नजरमा यस प्रतियोगितामा सहभागिता जनाउन आउनुभएका सबैजना प्रतिस्पर्धिहरु विजेता भइसक्नुभएको छ । ताज पहिरिने एक जनाले हो तर सिक्ने सबैले ।
PABSON KATHMANDU अन्तर्गत सञ्चालन गरिने यस कार्यक्रमको नेतृत्वदायी भूमिका निर्वाह गरिरहनुभएकी आदरणीय रीता राई दाहालज्यू जो मेरो विद्यालयको प्रधानाध्यापक पनि हुनुहुन्छ । हामी बालीकाहरुको चौतर्फी विकासका लागि प्रदान गर्नुभएको भूमिकाका लागि उहाँलाई उच्च सम्मान प्रकट गर्दछु ।
अन्तमा,
एकपटक सहभागी सम्पूर्ण बहिनीहरुलाई उभिइदिनु हुन अनुरोध गर्दछु । कृपया सबै बहिनीहरु उभिदिनुहोस् त ।
so Girls,
Are you ready to learn something new ?
Are you ready ?
म अनुरोध गर्दछु— हाम्रा बहिनीहरुको जोश र जाँगरलाई सबैजनाले तालिले प्रोत्साहन गरौँ ।
बहिनीहरुलाई बस्न आग्रह गर्दै मेरो भनाइ यहीँ अन्त गर्छु । धन्यवाद !













