म्याग्दी। म्याग्दीमा महिलाको घरजग्गामा स्वामित्व बढ्न थालेको छ । सरकारको अनुकूल नीति, सामाजिक परिवर्तन र महिला सशक्तिकरणसँगै यो संख्या वृद्धिमा रहेको मालपोत कार्यालयले जनाएको छ ।
सरकारले महिला, दलित, जनजाति, सहिद परिवार र अपाङ्ग व्यक्तिको नाममा घरजग्गा खरिद गर्दा रजिष्ट्रेशन दस्तुरमा २५ प्रतिशत छुट दिने व्यवस्था गरेको छ । चालु आर्थिक वर्ष २०८१/८२ मा मालपोत कार्यालय म्याग्दीमा दर्ता भएका ८८१ लिखतमध्ये १८० महिलाको नाममा छन् । यस अवधिमा महिलाले झन्डै २४ लाख ४८ हजार रुपैयाँ शुल्क छुट पाएका छन् । गत वर्ष २४३ महिलाले घरजग्गा आफ्नो नाममा दर्ता गराएका थिए ।
मालपोत अधिकृत साधनाकुमारी श्रेष्ठका अनुसार महिलाको आर्थिक पहुँच, चेतनाको विकास, पुरुष विदेशमा रहँदा घरको नेतृत्व महिलाले लिनु र सरकारले दिएको छुट सुविधाले स्वामित्व बढ्न मद्दत गरेको हो ।
गत वर्ष दलित, जनजाति, अपाङ्ग र अन्य गरी ३३४ जनाले रजिष्ट्रेशन दस्तुरमा ३१ लाखभन्दा बढी छुट पाएका थिए । राष्ट्रिय जनगणना २०७८ अनुसार म्याग्दीको एक लाख सात हजार जनसङ्ख्यामध्ये करिब ९.७ प्रतिशत महिलासँग जग्गा, ११.८ प्रतिशतसँग घरजग्गा दुवै र २.३ प्रतिशतसँग घर मात्र रहेको छ ।
यसैबीच, घरजग्गा धितो राखेर ऋण लिने क्रम पनि बढ्दो छ । चालु आर्थिक वर्षमा ९१६ जनाले घरजग्गा रोक्का र १,४१५ जनाले फुकुवा गरेका छन् ।
राजस्व संकलन पनि उच्च रहेको छ । चालु आर्थिक वर्षमा मालपोत कार्यालय म्याग्दीले पाँच करोड ८१ लाख रुपैयाँभन्दा बढी राजस्व संकलन गरेको छ, जुन पछिल्ला सात वर्षयताकै बढी हो ।













