पोखरा, ८ माघ । पोखराको जहाज दुर्घटना स्थलमा गुरुङ तमु लामा बौद्ध समाज नेपालले मृत आत्माको शान्तिको कामना गर्र्दै आइतबार दीप प्रज्वलन तथा पूजा पाठ गरेको छ ।
गुरुङ तमु लामा बौद्ध समाजका अध्यक्ष तथा खेन रिम्पोछे शिर लामा गुरुङको नेतृत्वमा उक्त घटनास्थलमा पूजा आरधानासहित दीप प्रज्वलन गरिएको हो ।
समाजका अध्यक्ष तथा धर्मगुरु लामाले दुर्घटना भएकै समय पारेर पूजा पाठ गर्दा दिवंगत आत्मालाई शान्ति मिल्ने धारणा राखे । ‘आज विमान दुर्घटना भएको एक हप्ता भएको छ’, धर्मगुरु लामाले भने, ‘माघ १ गते १० देखि ११ बजेको समयमा भएको थियो । आज हामी सोही समय पारेर मोन्लम (प्रणिधान) पाठ बाचन गरेका छौं ।’
उनले एकपटक दुर्घटना भएको स्थानमा दोहोरिन सक्ने बताउदै भने, ‘धेरै विधी, ज्योतिष विज्ञान र तन्त्रले के भन्छ भने, अकल्पनीय दुर्घटना भएको ठाउँमा स्वस्तिशान्ति पूजा गरिएन भने फेरिपनि दुर्घटना दोहोरिन सक्छ भन्ने विश्वास छ, त्यसैले एकपटक दुर्घटना भएको ठाउँमा दुर्घटना नहोस् भन्दै यो पूजा गरेका हौ ।’
धर्मगुरु लामाले उक्त दुर्घटनापछि आसपासका स्थानीय वासिन्दामा डर र त्रास सिर्जन भएको बताउदै स्वस्तिशान्ति पूजा आवश्यक रहेको धारणा राखे । ‘दुर्घटना पछि यहाँ आसपासमा रहनुहुने बासिन्दामा एक खालको डर र त्रास सिर्जना भएको छ, यस पूजापछि मनमा शान्ति मिल्ने हामीले विश्वास लिएका छौं ।’
उनले अनुकुल तिथि पारेर गरेको पूजा प्रभावकारी हुने बताउदै आजकै दिनमा पूजा तथा दीप प्रज्वलन गरेको जानकारी दिए । ‘आज पहिलो पुण्य तिथि हो, त्यसैले ग्रन्थमा उल्लेख भएअनुसार अकल्पनीय घटनामा ज्यान गुमाउनेहरुको आत्मा भड्किन सक्ने भएकाले हामीले मृतआत्माको नाममा दीप प्रज्वलन र पूजा गरेका हौं ।’ उनले भने ।उक्त दीप प्रज्वलन तथा पूजामा दर्जनौं बौद्ध लामागुरुहरु, मृतकका आफन्तजनहरु र सयौंको सँख्यामा भक्तजनहरुको सहभागिता रहेको थियो ।













