भोजपुर। अलैँचीको मूल्य बढेपछि भोजपुरका किसान खेती विस्तारमा जुटेका छन्। गत वर्ष प्रतिमन रु एक लाखदेखि रु एक लाख दुई हजारसम्म बिक्री भएपछि किसान नयाँ बगैँचा विस्तार र पुराना बगैँचाको संरक्षणमा लागेका हुन्।
टेम्केमैयुङ–५ का किसान शिवकुमार विष्टका अनुसार केही वर्षअघिसम्म मूल्य घट्दा विस्तार रोकिएको थियो। तर मूल्य बढेसँगै परम्परागत बाली हटाएर पुनः अलैँची खेतीमा किसान फर्किएका छन्।
अलैँची व्यवसायी महासङ्घका अध्यक्ष राजेश विष्टले बजारमा राम्रो मूल्य पाउन थालेपछि खेती विस्तार भएको बताए। उनले रोग–कीरा नियन्त्रणका लागि प्रत्येक अलैँची जोनमा कृषि प्राविधिक नियुक्त गर्नुपर्ने र माटो परीक्षणसहित नयाँ नर्सरी स्थापना गर्न सके उत्पादन र आम्दानी बढ्ने बताए।
टेम्केमैयुङ–५ मा करिब १५० किसान व्यावसायिक रूपमा अलैँची खेती गरिरहेका छन्। कृषि ज्ञान केन्द्रका अनुसार जिल्लामा हाल करिब ५९७ हेक्टरमा रामशाही, गोलशाही, डम्बर शाही र जिर्मले जातको अलैँची उत्पादन भइरहेको छ। चोलन्ती, दोभाने, कुदाकाउले, साम्पाङ, अन्नपूर्ण, चम्पे, खावा, छिनामखु, किमालुङ, वासिङ्गथर्पु, तिम्मा, हेलौछा र गुप्तेश्वर क्षेत्रमा खेती बढी हुने गरेको छ।













