काठमाडौँ। नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न रहेको आरोपमा पुर्पक्षका लागि थुनामा रहेका नेकपा (एमाले) का निलम्बित सचिव तथा पूर्वमन्त्री टोपबहादुर रायमाझीको मुद्दामा साउन १८ गतेका लागि नयाँ पेसी तोकिएको छ।
काठमाडौँ जिल्ला अदालतका सूचना अधिकारी दीपककुमार श्रेष्ठका अनुसार मुद्दाका जाहेरीवाला, साक्षी र कागज गर्नेहरूको बयान सम्पन्न भएसँगै आगामी सुनुवाइको मिति तय गरिएको हो।
‘ठगी, लिखत कीर्ते, राज्यविरुद्ध र सङ्गठित अपराध’ अन्तर्गत दायर सो मुद्दामा साक्षी प्रेमराज पन्थीले आफूले मात्र जाहेरीपत्रमा हस्ताक्षर गरेको र उल्लेख गरिएका घटनाबारे जानकारी नभएको बयान दिएका छन्। कानुन व्यवसायी धर्मराज रेग्मीको जिरहमा पन्थीले रायमाझी कुनै पनि बैठक वा छलफलमा उपस्थित नरहेको स्पष्ट पारेका हुन्।
पूर्वमन्त्री रायमाझीका छोरा सन्दीप रायमाझी, नेपाली कांग्रेसका नेता बालकृष्ण खाँण, आङतावा शेर्पा र गोविन्द चौधरी यसअघि सोही मुद्दामा पुर्पक्षका लागि थुनामा परेका थिए। तर, सर्वाेच्च अदालतको आदेशपछि ती सबै धरौटीमा रिहा भइसकेका छन्। यस्तै, अर्का सहप्रतिवादी टेकनाथ रिजाललाई उच्च अदालत, पाटनले मानसिक रोगी ठहर गरेको छ।
रायमाझी २०८० वैशाख ३१ गते पक्राउ परेका थिए। त्यसअघि उनलाई सहप्रतिवादीका रूपमा जिल्ला प्रहरी कार्यालय, काठमाडौँले पक्राउ पुर्जी जारी गरेको थियो। जिल्ला अदालतले २०८० असार १ गते रायमाझीलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो, जुन आदेश उच्च र सर्वाेच्च दुवै अदालतले सदर गरेका छन्।
यस प्रकरणमा रायमाझीको मुद्दा २९ महिनादेखि विचाराधीन अवस्थामा रहेको छ।












