पोखरा, १ माघ । पोखरामा भएको यति एयरलाइन्सको जहाज दुर्घटनामा वेपत्ताको खोजी कार्य राति पनि हुने भएको छ।
कास्कीका प्रमुख जिल्ला अधिकारी टेकबहादुर केसीले रातिपनि बत्ती जडान गरी खोजी गर्न जानकारी दिनुभयो । उनका अनुसार जहाजमा रहेका चार जना अझै बेपत्ता छन्। अहिलेसम्म ६८ जनाको शव फेला परेको छ । उनीहरुको शव पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा लगिएको छ ।
अहिले नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेनाका टोली खोजीमा खटिएको छन्। नेपाली सेनाका मात्रै दुई सय बढी खटिएका छन्। प्रहरी र सशस्त्र प्रहरी पनि सयौंको संख्यामा खटिएका छन्। काठमाडौंबाट सशस्त्र प्रहरीको गोताखोरको टोली पनि पोखरा आएको छ ।
‘सबै जनाको शव आज नै निकाल्न सकियोस भनेर रातिपनि खोजी गर्न लागिएको हो,’ उनले भने । भेटिएका शवको पहिचाने भोलि गरिने उनले बताए ।
मृतकका परिवारलाई सोमबार शव बुझाउने तयारी रहेको पनि उनले बताए। विदेशी नागरिक तथा अन्य जिल्लाका शवलाई पनि काठमाडौं लगिने जानकारी प्रजिअ केसीले बताए ।













