हामी जति जति प्रकृतिको अवज्ञा गर्छौं, प्राकृतिक नियम भङ्ग गर्छाैं, त्यति नै प्राणहीन र रोगग्रस्त हुँदै जान्छौँ । प्रकृतिमा जसरी सूर्य, चन्द्र, ग्रहउपग्रह, हावापानी, वृक्षवनस्पतिको एक क्रमबद्ध अन्तर्सम्बन्ध हुन्छ, त्यसैगरी हाम्रो शरीरभित्रका सबै आन्तरिक गतिविधिहरुको बीचमा पन एउटा गहन अन्तर्सम्बन्ध हुन्छ ।
जो व्यक्ति बाहिरी प्रकृतिको नियम र अनुशासन उलङ्घन गर्दछ, त्यस कुकर्मको प्रतिफल उसले सर्वप्रथम पेट र पाचनप्रणालीको क्षतिको रुपमा बेहोर्नुपर्दछ किनकि बाहिरी प्रकृतिको केन्द्रमा सूर्य भएझैँ शरीरको भित्री प्रकृतिको केन्द्रमा पेटको नाभी छेउमा सूर्य चक्र अर्थात् मणिपुर चक्र अवस्थित छ । पेटमा हुने पाचन, अवशोषण, निष्कासनजस्ता कार्यमा नियन्त्रण राख्ने यही चक्र हो । योग विज्ञानको मतानुसार जसले अप्राकृतिक आहार गर्छ, सुत्ने बेलामा जाग्ने र जाग्ने बेलामा सुत्ने गर्दछ, कृत्रिम वस्तुहरु तथा मेसिनको प्रयोग बढी गर्छ, त्यस्तो व्यक्तिको पचाउने शक्ति कमजोर हुँदै जान्छ ।
त्यसैले, व्यवस्थित पाचन प्रक्रिया, स्वाभाविक भोक र सन्तुलित स्वास्थ्य चाहने हो भने प्रकृतिसँग नजिकिने गरौँ । महात्मा गान्धी भन्नुहुन्छ— ‘जसलाई प्रकृतिको हावापानी र अन्नको परिणामको ज्ञान प्राप्त हुन्छ, उसलाई आफ्नो शरीर स्वस्थ राख्न डाक्टरको सहयोग कहिल्यै चाहिँदैन ।’
साभारः ‘खाने कसरी पिउने कसरी’ पुस्तकबाट













