पोखरा, २८ पुस । कानूनी प्रक्रिया र तोकिएको मापदण्ड पूरा नगरेका क्रसर उद्योग बिहीबार (आजै) देखि बन्द गर्न निर्देशन दिइएको छ । कास्कीका प्रमुख जिल्ला अधिकारी टेकबहादुर केसीले बिहीबार एक सूचना जारी गर्दै क्रसर उद्योग बन्द गर्न निर्देशन दिएका हुन् ।
कास्कीमा संचालित क्रसर उद्योगहरुको नियमन गर्ने क्रममा दर्ता तथा नविकरण नभई संचालनमा रहेका, विशेष आयोजनाका लागि स्थापना भएका तर आयोजना सम्पन्न पश्चात पनि संचालन रहेका तथा उद्देश्य विपरीत फरक बस्तु उत्पादन गरेको वा तोकिएको मापदण्ड पूरा नगरेका क्रसर उद्योग आजकै मितिबाट बन्द गर्न प्रजिअ केसीले निर्देशन दिएका छन् ।
साथै सूचनामा कुनैपनि उद्योगमाथि उल्लेख भए वमोजिम बन्दगर्नु पर्ने अवस्था नभएमा वा संचालन गर्न मिल्ने भएमा दर्ता नवीकरण लगायतका बैधानिक पुष्टि हुने कागजातसहित तुरुन्त जिल्ला प्रशासन कार्यालय कास्कीमा सम्पर्क गर्न समेत सूचनामा उल्लेख छ ।
यदि प्रशासनको सूचनालाई अटेरी गरेर कुनै क्रसर उद्योग संचालन भएको पाइएको खण्डमा कानून बमोजिम कारवाही गरिने सूचनामा भनिएको छ ।