काठमाडौं – प्रख्यात अमेरिकी लेखिका लुइसा एम. एल्कटले १५० भन्दा बढी कहानी र धेरै प्रसिद्ध उपन्यासहरु लेखेकी छिन् । एल्कटले पैसा कमाउनका लागि लेख्न शुरु गरिन् किनभने उनले आफ्नी आमा र कान्छी बहिनीलाई सहारा दिनु थियो ।
जब उनले सम्पादकहरुलाई कहानी पठाउन थालिन् तब उनका हरेक कहानी अस्वीकृत भएर फिर्ता आउँथे । एक सम्पादकले त उनलाई ठाडै भनिदिए कि उनी लेख्ने महत्वाकांक्षा छाडेर सिलाई बुनाइमा लागून् । तर, एल्कटले हिम्मत हारिनन् । उनले कहानी लेखिरहिन् र उनका कहानी बिस्तौ एक एक गरेर प्रकाशित भए । १८६९ मा प्रकाशित भएको उनको उपन्यास लिटिल वुमन अति लोकप्रिय भयो । त्यसपछि एल्कटले पछाडि फर्केर हेर्नु परेन ।
यो उपन्यासको पछाडि पनि एउटा रोचक कहानी छ । एल्कट बाल्यकालदेखि नै टमब्वाय (पुरुष स्वाभावको) थिइन । उनलाई केटीहरुमा रुचि थिएन र उनी केटीको बारेमा कहानी लेख्न चाहँदैनथिइन् । तर उनका प्रकाशक उनलाई केटीहरुको कहानी लेखाउन चाहन्थे । भनिन्छ— जबसम्म लेखकलाई मजा आएन भने पाठकलाई पनि पढ्न मजा आउँदैन । तर यो पुस्तकमा त्यस्तो भएन ।
उनलाई यो पुस्तक लेख्दा यति नरमाइलो अनुभव हुन्थ्यो कि उनी कलमकापी एकातिर फ्यालेर आफ्नो कुकुर लिएर जंगलमा जान्थिन् । लिटल वुमन असफल हुन्छ भन्नेमा उनी पूर्ण विश्वस्त थिइन् । पुस्तक बेस्टसेलर बनेको र केटीहरुले साह्रै मन पराउने मध्येको एक बनेको देखेर लेखिका आफै पनि अचम्मित भइन् ।
साभारः ‘सफलता’ पुस्तकबाट













