काठमाडौँ, ५ फागुन: जापानको सहयोगमा निर्मित गोरखाको प्रभात किरण माध्यमिक विद्यालयको नयाँ भवन हस्तान्तरण गरिएको छ । गोरखामा आज आयोजित एक समारोहमा नेपालका लागि जापानका कार्यवाहक राजदूत तामुरा ताकाहिरोले भवन हस्तान्तरण गर्नुभएको हो ।
नयाँ कक्षाकोठा भवन जापान सरकारको सहयोगमा सञ्चालित जापानी गैरसरकारी संस्था परियोजनाका लागि अनुदान सहायताअन्तर्गत निर्माण गरिएको यहाँस्थित जापानी दूतावासले जनाएको छ ।
त्यस अवसरमा कावा राजदूत तामुराले परियोजनामा संलग्न सबैको प्रयासको सराहना गर्नुभयो । उहाँले नयाँ विद्यालय भवनको उचित व्यवस्थापन र मर्मत गरिने, विभिन्न प्रशिक्षण कार्यक्रमहरू निरन्तर जारी रहने र विद्यालयको सिकाइ वातावरण भविष्यमा अझ बालमैत्री हुने विश्वास व्यक्त गर्नुभयो ।
यो परियोजना जापानी गैरसरकारी संस्था चाइल्डफन्ड जापानद्वारा कार्यान्वयन भइरहेको छभने हाल तीनवर्षे परियोजनाको अन्तिम वर्षका कार्यक्रम कार्यान्वयन भइरहेका छन् ।












