ललितपुर : सुक्खा याम लाग्न सुरु भएसँगै वन डढेलोका घटना बढ्न थालेका छन्। डढेलो लाग्नसक्ने संभावनालाई मध्यनजर गर्दै ललितपुरको लेलेमा वन डढेलोका विषयमा जनचेतना जगाउने उद्देश्यले वन डढेलो व्यवस्थापन (रोकथाम तथा नियन्त्रण) अभिमुखीकरण गोष्ठी आयोजना गरिएको छ।
बज्रबाराही सब डिभिजन वन कार्यालय चापागाउँ ललितपुरसँगको सहकार्यमा लेलेमा अवस्थित द लेप्रोसी मिसन नेपाल, आनन्दवन अस्पतालले गरेको सो गोष्ठीमा वन डेढेलो के हो?, कसरी लागिरहेको छ र समाधानका उपायहरु के हुन सक्छन् भन्ने विषयमा सरोकारवाला पक्षहरुबीच छलफल भएको छ।
नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी बल, नगर प्रहरी, वन उपभोक्ता समूहका प्रतिनिधिहरू, सरोकारवाला संघ–संस्था,स्थानीय निकाय, पत्रकार तथा विभिन्न क्षेत्रका विज्ञहरूको सक्रिय सहभागिता रहेको थियो।
सो अवसरमा उनीहरुले डढेलो नियन्त्रणका सवालमा आआफ्ना अनुभव सुनाएका थिए। डढेलोले समाज सबैलाई प्रभाव पारे पनि त्यसको रोकथाम र नियन्त्रणका लागि खाली सुरक्षाकर्मीहरुकै मुख ताक्ने प्रवृत्ति बढेको उनीहरुले सुनाए। र्
हाम्रो कर्तव्य नै जनताको सेवा गर्ने हो तर जसलाई समस्या पर्छ उही हात बाँधेर बस्ने होइन नि, एक सशस्त्र प्रहरीका निरीक्षकले भने, ‘डेढेलो नियन्त्रण र रोकथामका कृयाकलापमा हामी सबै लागे यसलाई नियन्त्रण गर्न नसकिने होइन, तर खाली सुरक्षाकर्मीले मात्रै गर्छ भनेर पन्छिनु चाँही भएन।’
प्रेस चौतारी ललितपुरका अध्यक्ष एवं पत्रकार नवीन लुइँटेलले डढेलो रोकथामका लागि ठूला ठूला सपना देखाउनुभन्दा आफूसँग भएका स्रोत साधनलाई भरपुर प्रयोग गर्न सके डढेलोको चपेटामा जानुनपर्ने बताए।
गोष्ठीको उद्घाटन सत्रमा बोल्दै गोदावरी नगरपालिकाका मेयर गजेन्द्र मर्हजनले वन डढेलो रोकथाम तथा नियन्त्रणका लागि नगरपालिकाले सक्दो प्रयास गर्ने प्रतिबद्धता जनाए। त्यसका लागि आवश्यक पर्ने पूर्वाधार देखि जनशक्ति ब्यवस्थापनमा नगरपालिका संवेदनशिल रहेको उनले बताए।
मेयर मर्हजनले वन कार्यालयलाई सल्लाको रुखबाट डढेलोको जोखीम देखीएकाले यसको सट्टा अन्य रुखका विरुवा रोप्नेतर्फ लाग्न सुझाव दिए।
वन प्राविधिक शर्मीला पौडेलले वन डढेलोका विषयमा जानकारीमूलक प्रस्तुति दिएकी थिइन्।
गोष्ठीमा बज्रबाराही सब डिभिजनका प्रमुख सन्त कुमार श्रेष्ठले डढेलो लगाउनेलाई दण्डीत गर्नुपर्नेमा जोड दिए। उनका अनुसार वन ऐन २०७६ मा डढेलो लगाउने वा आगलागी हुने कार्य गर्नेलाई बिगो असुर गरी ६० हजार सम्म जरीवाना वा ३ वर्षसम्म कैद वा दुबै सजाय हुने ब्यवस्था छ।
गत बैशाखमा आनन्दवन अस्पताल छेउैमा भिषण डेढेलो लाग्दा अस्पताल निकै जोखिममा परेको थियो।












