काठमाडौं । संघ र प्रदेशमा सरकार बनाउने मुखैमा आएको अवसर गुमेपछि नेपाली कांग्रेसका नेता मात्रै होइन, कार्यकर्ता पनि निराश छन् । नेतृत्वले पाँचदलीय गठबन्धन भत्किनुको दोष नेकपा माओवादी केन्द्रलाई लगाएर पन्छिन खोजे पनि कार्यकर्ताले पत्याएका छैनन् । नेतृत्वले समयमै उचित निर्णय लिन नसक्दा देशभर पार्टी सत्ताबाट प्रतिपक्षमा पुगेको उनीहरूको ठम्याइ छ ।
कांग्रेस सामूहिक निर्णयमा चल्ने पार्टी भनिए पनि महत्त्वपूर्ण निर्णय गर्दा पार्टीका विभिन्न तहमा छलफल नहुने गरेको नेताहरूको गुनासो छ । निर्णय प्रक्रियामा सभापति शेरबहादुर देउवाले हस्तक्षेपकारी भूमिका खेल्ने गरेको भन्दै बेला बेलामा नेता कार्यकर्ताले चित्त दुखाउने गरेका छन् ।
प्रतिनिधिसभामा ८९ सिट जितेर पहिलो पार्टी भएको कांग्रेस वाग्मती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा पहिलो पार्टी भयो । तर गठबन्धनलाई जोगाउन नसक्दा संघ र सातवटै प्रदेशमा प्रतिपक्षमा बस्न बाध्य भएको छ ।
सभापति शेरबहादुर देउवाले पार्टीमा पर्याप्त छलफल नगरी केही विश्वासपात्रका भरमा निर्णय गर्दा पार्टी अहिलेको अवस्था पुगेको संस्थापन इतर पक्षको गुनासो छ । गठबन्धन गुम्दा सत्तारोहणका लागि तम्तयार केही नेतालाई त धक्का लागेको छ नै, पार्टीले सत्ता सञ्चालन गरेको हेर्न चाहेका स्थानीय तहसम्मका कार्यकर्ताको आशामाथि पनि ठेस लागेको छ ।
वरिष्ठ नेता रामचन्द्र पौडेलले गठबन्धन भत्केकोमा सार्वजनिक रूपमै असन्तुष्टि पोख्दै आएका छन् । तत्कालीन पाँचदलीय गठबन्धन बैठकमा निरन्तर सहभागी सभापति शेरबहादुर देउवाका विश्वासपात्र उपसभापति पूर्णबहादुर खड्कासमेत गठबन्धन टुटेकामा सन्तुष्ट छैनन् । देउवाकै अर्का विश्वासपात्र ज्ञानेन्द्रबहादुर कार्की पनि सत्ता गुमेकामा निराश देखिएका छन् ।













