पोखरा, २१ पुस । भुटनिज युथ स्पोर्टस् क्लव (बीवाईएससी) पोखरामा जारी २२ औं आहा ! रारा पोखरा गोल्डकपको फाइनलमा प्रवेश गरेको छ । पोखरा रंगशालामा बिहीबार भएको दोस्रो सेमिफाइनलमा आहा ! रारा गोल्डकपमा पहिलो पटक सहभागिता भएको भुटनिज युथ स्पोर्टस् क्लबले चर्च ब्वाइज क्लबमाथि १–० को कठीन जित हात पार्दै फाइनल भिडन्त पक्का गरेको हो । अब उपाधिका लागि भुटनिज युथ स्पोर्टस् क्लबले अर्को फाइनलिस्ट संकटा क्लबसँग शनिबार प्रतिष्पर्धा गर्नेछ ।
उपाधि भिडन्त पक्का गरेका दुबै टोली पहिलो पटक फाइनलमा पुगेका हुन् । कडा प्रतिष्पर्धा भएको खेलको निर्णायक गोल भुटनिज युथ स्पोर्टस् क्लबका लागि रोजिन प्रजापतिले गरेका थिए । उनले पहिलो हाफको अतिरिक्त समयमा गोलको खडेरी तोड्दै जाली चुमाएका थिए । प्रवीन बस्नेतले मैदानको बायाँ साईडबाट निकालिएको पासलाई हेडर गोल गरेका हुन् ।
पहिलो हाफमा निरीह देखिएको चर्च व्वाईज युथ क्लबले दोश्रो हाफमा भने खेलमा फर्किने कोशिष ग¥यो । पहिलो हाफको रक्षात्मक रणनीति अप्नाएर काउण्टर अट्याकमार्फत गोल गर्ने चर्च ब्वाइजको प्रयास असफल भएपछि दोश्रो हाफमा आक्रामक रणनीतिमा उत्रियो । जसको फलस्वरुप केही अवसर सिर्जनापनि ग¥यो तर गोलमा परिणत नभएपछि सेमीफाइनलबाटै घर फर्किन बाध्य भयो ।
खेलको ८३ औं मिनेटमा चर्च ब्वाइजका खेलाडी आशिष चौधरी रातो कार्ड खाँदै मैदानबाट बाहिरिएका थिए । त्यसपछि १० खेलाडीमा सीमित भएको चर्चव्वाईजबिरुद्ध भुटनिज युथ स्पोर्टस् क्लबले फाइदा भने लिन सकेन । विहीबारको खेलमा निर्णायक गोल गरेका भुटनिज युथ स्पोर्टस् क्लबका रोजिन प्रजापति म्यान अफ दि म्याच घोषित भए ।













