राजेश भट्टराई
धेरै बकबक नगर है बुढा— झिज्झिँदै भन्यो उसले ।किन बक बक नगर्ने ? बोल्छु नि— जवाफ दिए उनले पनि । त्यसो भए निस्किहाल् यो घरबाट— रिसाएर भन्यो उसले ।
किन निस्किने ? तेरो मात्र घर हो र यो ? मेरो पनि हो— जङ्गिए उनी पनि । अँझै मेरो पनि हो, भन्छौ ? तिमीले कमाएर जोडेको हो र यो ? सँधै हजुरबुवाले बनाइदिएको घरमा बसेछौ, अझ ठुलो हुन्छौ ।
बाले मलाई पढाएनन् । कमाएकोले घर बनाए । मैले पनि कमाएकोले तँलाई नपढाएर घर बनाएको भए, अर्को घर बनाउन सक्थेँ ।
अँझै बढी बोल्छौ ? निस्किहाल घरबाट भन्दै घिच्चाउँदै बाहिर निकाल्यो ।
रुँदै निस्किएर आफैले आफैलाई भने— ‘बाले मलाई पढाएनन् र मेरो काखमा मरे । मैँले छोरालाई पढाएँ, सडकमा मर्नुपर्ने भयो । हैन, मैँले छोरालाई के पढाएँछु ?’
साभारः लघुकथा कुनोबाट













