• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Friday, May 15, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    पृथ्वीराजमार्गका ऐतिहासिक सम्पदाको पुनर्निर्माण गरिँदै

    पृथ्वीराजमार्गका ऐतिहासिक सम्पदाको पुनर्निर्माण गरिँदै

    डलर साट्दै हुनुहुन्छ ? यस्ताे छ आजको विदेशी मुद्राको विनिमय दर

    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

    आज २०८३ साल जेठ १ गते शुक्रबारको राशिफल

    अन्तरराष्ट्रिय परिवार दिवस आज मनाइँदै

    अन्तरराष्ट्रिय परिवार दिवस आज मनाइँदै

    पछिल्ला तीन घण्टामा कञ्चनपुरमा सबैभन्दा बढी वर्षा

    पश्चिमी वायुको प्रभावः देशका विभिन्न स्थानमा वर्षा र हिमपातको सम्भावना

    मध्यपूर्व द्वन्द्वका कारण ऊर्जा सङ्कट गहिरिँदै, अमेरिकी अर्थतन्त्र प्रभावित

    विश्वकपअघि अमेरिकाको भिसा नियममा आंशिक सहजता

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
  • गृह
  • समाचार
    पृथ्वीराजमार्गका ऐतिहासिक सम्पदाको पुनर्निर्माण गरिँदै

    पृथ्वीराजमार्गका ऐतिहासिक सम्पदाको पुनर्निर्माण गरिँदै

    डलर साट्दै हुनुहुन्छ ? यस्ताे छ आजको विदेशी मुद्राको विनिमय दर

    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

    आज २०८३ साल जेठ १ गते शुक्रबारको राशिफल

    अन्तरराष्ट्रिय परिवार दिवस आज मनाइँदै

    अन्तरराष्ट्रिय परिवार दिवस आज मनाइँदै

    पछिल्ला तीन घण्टामा कञ्चनपुरमा सबैभन्दा बढी वर्षा

    पश्चिमी वायुको प्रभावः देशका विभिन्न स्थानमा वर्षा र हिमपातको सम्भावना

    मध्यपूर्व द्वन्द्वका कारण ऊर्जा सङ्कट गहिरिँदै, अमेरिकी अर्थतन्त्र प्रभावित

    विश्वकपअघि अमेरिकाको भिसा नियममा आंशिक सहजता

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
Metakhabar
No Result
View All Result

जलविद्युत् आयोजनामा बाढीको कहर, ११०० सय मेगावाट विद्युत् प्रणाली बाहिर

by
१६ अशोज २०८१,
0
जलविद्युत् आयोजनामा बाढीको कहर, ११०० सय मेगावाट विद्युत् प्रणाली बाहिर
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । बिजुली उत्पादन गर्न ठिक्क भएको आयोजना बाढीले बगायो । आयोजना मात्रै बगेन, त्यहाँ कार्यरत १८ जना कामदार पनि बाढीमै मिसिए । तीमध्ये चार जनाको मात्रै शव फेला पर्‍यो । बाढीले उनीहरुका परिवारको खुसी उजाडियो । लालाबाला टुहुरा भए । आयोजना एकाउक खण्डहरमा परिणत भयो । करोडौ मूल्यका सामान बाढीले बेपत्ता बनायो । हेवा खोलाको बाढीको वितण्डाले उठ्नै नसक्ने गरी समस्यामा पारिदिएको आयोजनाको नाम हो ‘सुपर हेवा पावर कम्पनी’ ।

सिन्धुपाल्चोकका निमा लामा पहिलो पटक जलविद्युत् आयोजनामा जोडिएर लगानी गर्नुभएको थियो । आयोजनाबाट बिजुली बाल्ने अन्तिम तयारी हुँदा गर्दा २०८० असार १ र २ गतेको अविरल वर्षापछिको बाढीले दिएको दुःख भूल्दै फेरि निर्माणमा जुटनुभएका लामालाई यस वर्षपनि गत वर्षकै पीडा दोहोरियो । गत वर्षको बाढीले आयोजनाको पाइप र अन्य निर्माण सामग्री बगाएको थियो । त्यो बेला झण्डै रु ४० करोड बराबरको क्षति भएको थियो । निर्माण व्यवसायीले बीमा नगर्दा क्षतिपूर्ति पाउन समेत समस्या भयो ।

उपकरणको भन्दा पनि मानव जीवनको क्षति ठूलो भयो । बेपत्ता भएका बर्दियाका कामदारको अवस्था हालसम्म पत्ता लागेको छैन । निर्माणमा संलग्न मजदुर छोराछोरी जस्तै प्रिय थिए । आफ्ना प्रिय मान्छेहरुलाई खोलाले निलेपछि निमाको आँखा धेरैदिन ओभानो भएन । ‘म धेरै दिनसम्म रोएँ । मलाई असाध्यै नरमाइलो लागिरह्यो । मेरो आयोजनामा काम गर्न आएका मजदुरको शव समेत हालसम्म फेला परेको छैन । फेरि त्यस्तै कहर यसपटक पनि आयोजनाले खेप्नु परेको छ’, उनले भने।

बीमालगायत प्रत्येक मजदुरका परिवारलाई रु आठ लाख बराबरको राहत उपलब्ध गराइए पनि मानव जीवनको क्षतिपूर्ती कसरी हुँदो हो र ? निमा भन्छन, ‘आयोजनाको फेरि निर्माणका लागि भन्सारमा सामान रोकियो । अनेकन हण्डर ठक्कर व्योहोरेर पुनः आयोजना सुरु गर्दा नगर्दै समस्या दोहोरियो ।’

गत वर्ष जनधन दुवैको क्षति भएको भएपनि यस वर्ष मानव क्षति भने भएन । यसैमा खुसी छन् निमा । चैनपुर सिद्धपोखरीदेखि आयोजनास्थल मुच्छेबुङसम्म पुग्ने पहुँचमार्गको छ किलोमिटर खण्डको दर्जनौ स्थानमा पहिरो गएको छ । नियमित काम हुन पाएको भए आगामी कात्तिक मसान्तसम्म आयोजनाबाट बिजुली उत्पादन हुने थियो । तर यसपटक पनि प्राकृतिक विपत्तिका सामू उनको केही लागेन । हेवामा गत वर्षको जस्तै बाढी आयो । क्षति पुर्‍यायो । बिजुली बाल्ने सपना पर धकेलियो ।

निमाले भने – प्राकृतिक विपत्तिले दिनुसम्मको दुःख दियो । कुल छ मेगावाट क्षमताको सो आयोजना आकर्षकमध्येको एक हो । जलविद्युत् क्षेत्रमा लगानी गर्ने मनसाय राखेर ठूलो दुःखका साथ लागिपरेको भएपनि प्रकृतिसँग केही नलागेपछि उनी दुःखी देखिनुहुन्छ ।

सरकारी निकायले समन्वय नगर्दा भन्सारमा सामान रोकिने, निर्माणको काम गतिका हुन नसक्दा दिनप्रतिदिन लागत बढेको उनी सुनाउँछन् । बाढीका कारण सिभिल काम, इन्टेक, बालुवा थिग्रयाउने पोखरी, बाँध, विद्युत् गृह, टेलरेसलगायतका संरचनामा क्षति पुगेको थियो । नेपाल विद्युत् प्राधिकरणसँग भएको विद्युत् खरिद सम्झौताअनुसार विद्युत् जोड्ने समय २०८० असार ३१ गते थियो । बाढीले ती सबै लक्ष्यमाथि तुषारापात गरिदिएको उहाँको भनाइ छ । अब त सरेर आगामी माघसम्म पुग्ने होला भन्ने चिन्तामा छन् उनी ।

गत वर्षको बाढी र यस वर्षको बाढीले धेरै जलविद्युत् आयोजनामा क्षति पुर्‍याएको छ । गत वर्ष मात्रै निर्माणमा रहेका १८ वटा परियोजनामा क्षति पुगेको थियो । त्यसबाट मुलुकले ठूलो आर्थिक नोक्सानी व्यहोर्नु परेको छ । यही असोज ११ र १२ गतेको अविरल बर्षाका कारण नदीहरुमा आएको बाढीका कारण ३६ आयोजनामा क्षति पुगेको स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था नेपाल (इप्पान)ले जनाएको छ । यसपटकको बाढीले रु दुई अर्ब ५० करोड बराबरको क्षति पुर्‍याएको छ । क्षतिको विवरण सङ्कलन काम भइरहेकाले केही बढ्न सक्ने देखिन्छ । गत वर्षको बाढीले रु १० अर्ब बराबरको क्षति भएको इप्पानले दाबी गरेको थियो । गत वर्ष पूर्वी नेपालमा मात्रै क्षति भएको भएपनि यस वर्ष धेरैतिर भएको अनुमान छ ।

इप्पानका अनुसार यस वर्षको बाढीबाट ३६ वटा आयोजना प्रभावित भएका छन् । त्यसमा सबैभन्दा बढी क्षति बाग्मती साना जलविद्युत् आयोजनाको भएको छ । सो आयोजनाको रु एक अर्ब बराबरको क्षति भएको प्रारम्भिक अनुमान छ । सो आयोजना २२ मेगावाट क्षमताको हो । यस वर्ष बाढीका कारण माउन्टेन हाइड्रो नेपालद्वारा प्रवर्द्धित २२ दशमलव एक मेगावाट क्षमताको तल्लो हेवाखोला जलविद्युत् आयोजनाको बिजुली उत्पादन बन्द भएको छ । सो आयोजना गत वर्ष पनि बाढीबाट प्रभावित भएको थियो । हाल उक्त आयोजनाबाट विद्युत् उत्पादन बन्द भएको छ ।

पाँचथर पावरद्वारा प्रवर्द्धित १४ दशमलव नौ मेगावाट क्षमताको हेवाखोला जलविद्युत् आयोजनाको विद्युत् उत्पादन पनि बन्द भएको छ । गत वर्षको बाढीले क्षतिग्रस्त आयोजना पुनःनिर्माण सकेर सञ्चालनमा आउनै लाग्दा आयोजना पुनः क्षतिग्रस्त भएको हो ।

साहस ऊर्जाद्वारा प्रवर्द्धित ८६ मेगावाटको सोलु दुधकोशी जलविद्युत् आयोजनाको बाँध स्थलमा क्षति पुग्दा विद्युत् उत्पादन बन्द छ । सगरमाथा जलविद्युत् कम्पनीद्वारा प्रवर्द्धित तीन मेगावाट क्षमताको माइखोला क्यासकेड जलविद्युत् आयोजनाको बाँधलगायतका संरचनामा क्षति पुगेको छ । इप्पानका अनुसार सगरमाथा जलविद्युत् कम्पनीद्वारा प्रवर्द्धित नौ दशमलव छ मेगावाट क्षमताको माइखोला जलविद्युत् आयोजनाको बाँध र प्रसारणलाइनमा क्षति पुगेको छ । फेमे खोला जलविद्युत् आयोजना सिउरीखोला पनि बाढीले क्षति पुर्‍याउँदा विद्युत् उत्पादन बन्द भएको जनाइएको छ ।

कूल ४० मेगावाट क्षमताको सुपरन्यादी जलविद्युत् आयोजनाको पहुँचमार्ग र सुरक्षा पर्खालमा बाढीका कारण क्षति पुगेको छ । इलेप खोला तातोपानी जलविद्युत् आयोजनामा पनि बाढीले क्षति गरेको छ भने कोरियन लगानी रहेको २१६ मेगावाट क्षमताको माथिल्लो त्रिशूली–१ को क्याम्प हाउस र पहुँचमार्गमा क्षति भएको छ । निर्माण सामग्री राखिएको तीन वटा कन्टेनर बगाएको छ । हेवाखोला जलविद्युत् आयोजनाको क्रसर पुरिएको छ भने पहुँचमार्गमा क्षति भएको छ । यस्तै, बाढीका कारण प्रसारणलाइनको टावर ढलेका छन् भने पावर हाउसमा जडान गर्न ल्याइएका सामग्री बगाएको छ ।

सभाखोला ‘बी’ जलविद्युत् आयोजनाको पहुँचमार्गमा पहिरोका कारण समस्या उत्पन्न भएको छ । यसैगरी पावरहाउस पुरिएको र बाँधमा क्षति हुन गएको छ । इप्पानका अनुसार सभाखोला ‘सी’ जलविद्युत् आयोजना पहुँचमार्गमा क्षति पुगेको छ भने लान्द्रुक मोदी जलविद्युत् आयोजनाको पनि सडक पूर्वाधार बगाएको छ ।

बाढीले सुपर त्रिशूली जलविद्युत् आयोजनाको निर्माण उपकरण बगाएको छ । कूल एक सय मेगावाट क्षमताको सो आयोजना निर्माणको क्रममा छ । आयोजनाको दुई वटा स्काभेटर लोडर र तीन वटा ट्रिपर बगाएको छ । त्यस्तै, बेलीब्रिज र खन्ने क्रममा रहेको पावर हाउस पुरिएको छ ।

तामाकोशीको क्षति ठूलो

राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको माथिल्लो तामाकोशीको क्षति यकिन हुन बाँकी छ । हाल प्राविधिकहरु आयोजना स्थल पुगेर मूल्याङ्कन गरिरहेको जनाइएको छ । बाँधस्थलमा अवस्थित ‘कन्ट्रोल रुम’मा पूर्ण रुपमा क्षति भएको छ । ‘सेटलिङ बेसिन’, ‘बक्स बेसिन’, ‘बक्स कल्भर्ट’मा बालुवा र ग्रेगान थुप्रिएको छ । बाढीका कारण दुई सुरक्षाकर्मी र दुई कर्मचारीलाई तामाकोशी नदीले बगाएको थियो ।

कूल चार सय ५६ मेगावाट क्षमताको सो आयोजना बन्द हुँदा बिजुली व्यवस्थापनमा प्राधिकरणलाई समस्या भएको छ । सो आयोजनाको बिजुली आन्तरिक रुपमा खपत गरेर अन्य आयोजनाको बिजुली भारत निकासी हुँदै आएको थियो । क्षतिको मूल्याङ्कन भइरहेको जानकारी दिँदै नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले लामो समयसम्म आयोजना बन्द हुने अवस्था आए हिउँदमा बिजुली व्यवस्थापन गर्न गाह्रो हुने बताए ।

इप्पानका अनुसार, गत वर्षको बाढीले सुपर हेवा खोला (६ मेवा) पिलुवा खोला (४मेवा), सवा खोला ‘बी’ (२१.५ मेवा), सवा खोला ‘सी’ (६.३ मेवा), इन्ग्वा खोला (९.७ मेवा), सुपर काबेली ‘ए’ (१३.५ मेवा), सुपर काबेली खोला क्यासकेड (१२ मेवा), काबेली (२१.९३ मेवा), काबेली ‘ए’ (३७.६ मेवा), हेवा खोला ‘ए’ (७.५ मेवा), इसुवा खोला (९७.५ मेवा), इसुवा क्यासमेड (४० मेवा), तल्लो इर्खुवा (१४.१ मेवा), माथिल्लो इर्खवा (१४.५ मेवा), सवा खोला ‘ए’ (१०.४ मेवा), माया खोला (१४.९ मेवा)मा समस्या पारेको थियो । ती सबै आयोजना निर्माधिन अवस्थामा थिए ।

बाढीका कारणले ताप्लेजुङ, पाँचथर र सङ्खुवासभामा रहेका २३ वटा जलविद्युत् आयोजना प्रभावित भएका थिए । उक्त वर्ष हेवाखोला, माया खोला, काबेली, इवा र इङ्गुवा खोला तथा नदी बेसिनमा निर्माणाधीन तथा सञ्चालनमा रहेका २३ जलविद्युत् आयोजनामा क्षति पुगेको थियो ।

निजी क्षेत्रका ऊर्जा उत्पादकले निर्माण अवधिको ब्याज छुटदेखि पुनःनिर्माणमा प्रयोग हुने स्पेयर्स पार्टसको भन्सार दर एक प्रतिशत नै कायम गर्न माग गरेको भएपनि हालसम्म पूरा नभएको जनाइएको छ । इप्पानका अध्यक्ष गणेश कार्कीले भन्सार महसुल वृद्धि हुँदा मर्मतको उपकरण ल्याउन समस्या भएको गुनासो गरे ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा यही असोज १३ गते आयोजित पत्रकार सम्मेलनमा उपस्थित कार्कीले ऊर्जा मन्त्रालय र अर्थ मन्त्रालयमा फाइल पठाउने काम मात्रै भएको र गत वर्षको बाढीका कारण समस्यामा परेका आयोजनाको हालसम्म सम्बोधन हुन नसकेको बताउनुभएको थियो । गत वर्षको बाढीले ९५ प्रतिशत निर्माण पूरा भएको आयोजनाको सबै संरचना बगाएको थियो । अघिल्ला वर्षहरुको बाढीले क्षति पुर्‍याएर पुनःनिर्माण गरी सञ्चालनमा ल्याइएका आयोजना समेत प्रभावित भएका थिए ।

निजी क्षेत्रको माग

निजी क्षेत्रले आयोजनाको अनुमतिपत्रको म्याद थप, पुनरकर्जाको माग गर्दै आएका छन् । इप्पान अध्यक्ष कार्कीले यस वर्षपनि आफूहरुको माग पुरानै रहेको बताए । जलविद्युत् आयोजनाका प्रवर्द्धकले बीमा गरेको भएपनि बीमाको दाबी भुक्तानीका लागि समस्या भइरहेको बताएका छन् ।

ऋण लगानी गर्दा कुनै एउटा संस्थाको नेतृत्वमा विभिन्न बैंक तथा वित्तीय संस्थाले सहवित्तीयकरण गरे जस्तै बीमामा पनि त्यस्तै व्यवस्था गर्नुपर्ने माग गरेका छन् । गत वर्षको जस्तो जलविद्युत् आयोजनामा मानवीय क्षति नभएपनि अन्य संरचनामा पुगेको क्षतिले समग्र अर्थतन्त्रमा समस्या ल्याउन सक्ने देखिन्छ ।

पूर्वानुमानका कारण क्षति कम

यस वर्ष जल तथा मौसम विज्ञान विभागले गरेको पूर्वानुमानका आधारमा आवश्यक सतर्कता अपनाउँदा गत वर्षको तुलनामा मानवीय क्षति नभएको देखिन्छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री दीपक खडकाका अनुसार घनघोर वर्षा र बाढीको पूर्वानुमान जलविद्युत् आयोजनालाई जानकारी गराउँदा गराउँदै पनि क्षति भएको छ । पूर्वानुमान नगराएको भए यसपटक पनि गत वर्षको जस्तै ठूलो जनधनको क्षति हुने उनको दाबी छ ।

जलविद्युत् आयोजनामा रातको समयमा नबस्न, यातायातका सवारी साधन नचलाउन सरकारको तर्फबाट निर्देशन दिइएको थियो । त्यसकारण पनि आयोजनमा अन्य क्षति भएपनि मानवीय क्षति रोक्न सकिएको हो ।

११०० सय मेगावाट विद्युत् प्रणाली बाहिर

यसवर्षको बाढीले एक हजार एक सय मेगावाट बराबरको विद्युत् उत्पादनमा अवरोध उत्पन्न भएको छ । जलविद्युत् आयोजनाका प्रसारण लाइन तथा वितरण प्रणालीमा जटिलता पैदा भएको छ । उत्पादन रोकिएका आयोजनाको क्षमता छ सय ५० मेगावाट बराबर छ । आपतकालीन अवस्थामा अधिकांश विद्युत् गृह बन्द हुन जाँदा प्राधिकरणलाई माग धान्न समेत कठिनाई भएको थियो । बाढी र अविरल वर्षाका कारण एक हजार एक सय मेगावाट बराबरका ३६ आयोजनामा क्षति भएको ऊर्जामन्त्रालयको प्रारम्भिक विवरणमा उल्लेख छ ।

बाढीका कारण पूर्वी नेपालको माग धान्ने काबेली करिडोरका आयोजनामा क्षति पुगेको छ । सो प्रसारण लाइनको तीन वटा टावरमा क्षति पुग्दा झण्डै दुई सय मेगावाट बराबरको बिजुली प्रणालीभन्दा बाहिर रहेको छ ।

यस्तै, तामाकोशी करिडोरको बिजुली काठमाडौँ ल्याउने खिम्ती लामोसाँघु प्रसारण लाइनको एउटा टावर तामाकोशी नदीले बगाएको छ । सो प्रसारण लाइनमा समस्या आउँदा दुई सय मेगावाट बराबरको बिजुली प्रणालीभन्दा बाहिर छ । खिम्ती ढल्केबर २२० केभी क्षमताको एउटा टावरमा समस्या भएको छ । यस्तै, अविरल वर्षाका कारण सडक भासिएपछि बर्दघाट–सर्दी १३२ केभी डबल सर्किट प्रसारण लाइनको टावर ढलेको छ । पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपरासी ९बर्दघाट सुस्तापश्चिम०को बर्दघाट नगरपालिका–५ दाउन्नेस्थित खुर्सानीखोलामा सडक भासिएपछि त्यस भन्दामाथि डाँडामा रहेको प्रसारणलाइनको टावर ढलेको प्राधिकरणले जनाएको छ ।

टावर ढलेपछि चिनियाँ र नेपाली लगानीकर्ताको साझेदारीमा नवलपरासी (बर्दघाट सुस्तापूर्व) को विनयी त्रिवेणी गाउँपालिकास्थित सर्दीमा सञ्चालित होङ्शी शिवम् सिमेन्टको विद्युत् आपूर्ति सोमबार साँझदेखि बन्द भएको छ ।
एउटा आयोजना बन्द हुँदा त्यसको असर अन्यत्र पर्दैन, तर एउटा टावरमा समस्या आउँदा ठूलो प्रभाव पर्न जान्छ । धेरै जलविद्युत् आयोजनाको बिजुली प्रवाह हुन नसक्दा माग व्यवस्थापन गर्न समस्या हुने प्राधिकरणका कार्यकारी निर्देशक घिसिङको भनाइ छ ।

गत वर्ष र यसपटकको बाढीको प्रकृति फरक भएपनि जलविद्युत् आयोजनामा क्षति पुगेको छ । पुनःनिर्माण र मर्मत गर्ने उपकरणको आयात र भन्सार शुल्क र मूल्य अभिवृद्धि करलगायतका विषयमा निजी क्षेत्र र सरकारी निकायबीच मतैक्य हुन सकेको छैन ।

खासगरी पहुँचमार्गमा पुगेको क्षतिका कारण निर्माण सामग्री लैजान समस्या पर्ने भएको छ । सडक र पुलमा यस वर्षको बाढीको क्षति बढी छ । त्यसबाट पनि आयोजनाको मर्मत सम्भार र निर्माणमा रहेका आयोजनाको समय लम्बिन जान्छ । त्यसबाट प्राधिकरणसँग भएको सम्झौताअनुसार तोकिएको समयमा बिजुली उपलब्ध हुन सक्दैन । ऊर्जामन्त्री खड्का पुनःनिर्माण, पहुँचमार्ग निर्माण र बीमालगायतका विषयमा अर्थमन्त्रालयसग छलफल गरेर आवश्यक निर्णय गरिने बताउँछन् ।

मुलुकको ऊर्जा क्षेत्रले बाढीपहिरो र वर्षाका कारण पछिल्ला केही वर्षदेखि क्षति भाग्नु परेको छ । विसं २०७४ साउनमा आएको अविरल वर्षाले प्राधिकरणको एक दर्जनभन्दा बढी सवस्टेशन तथा अन्य भौतिक संरचनामा क्षति पुगेको थियो । यस्तै, २०७८ सालको असारमा आएको बाढी तथा पहिरोले डेढ दर्जन आयोजनामा क्षति पुगेको थियो । कास्कीमा निर्माणका क्रममा रहेको ४४ मेगावाट क्षमताको सुपर मादीमा झण्डै रु एक अर्ब बराबरको नोक्सानी भएको थियो । मोदी नदीको बाढीका कारण बाँधस्थल, विद्युत्गृह, कामदार आवास गृह, लोडर एक्साभेटर, पेनस्टक पाइप, ककर्सर प्लान्टलगायतका उपकरण बगाएको थियो ।

त्यस वर्षको बाढीले सुपर दोर्दी, दोर्दी–१ मा समस्या पारेको थियो । रसुवागढीको टेलरेसबाट बाढी पसेको थियो । सोही बर्ष नै मेलम्चीमा आएको बाढीले तवाह नै मच्चाएको थियो ।

बीमा कम्पनीले जलविद्युत् आयोजनाको बीमा गरेको भएपनि भुक्तानी पाउन समस्या पर्दै आएको छ । गत वर्षको मात्रै दाबी भुक्तानी रु सात अर्ब बराबर छ । यस वर्षको समेत दायित्व थप भएको छ । भुक्तानी नहुँदा मर्मत सामग्री र उपकरण ल्याउन समस्या पर्दै आएको छ । आयोजना प्रवर्द्धकले हरेक वर्ष कूल लागतको दुई प्रतिशत रकम प्रिमियम वापत तिर्दै आएको आएको भएपनि दाबी भुक्तानीका लागि बीमा कम्पनीले अटेर गर्दै आएको गुनासो गर्दै आएका छन् ।

मुलुकको अर्थतन्त्रको प्रमुख आधार स्तम्भका रुपमा रहेको ऊर्जा क्षेत्रमा बाढी तथा पहिरोले पुर्‍याएको समस्या समाधानका लागि आयोजनाको अध्ययन, डिजाइन र निर्माण पूर्व नै पूर्वानुमान गर्ने प्रणाली र कार्यशैलीमा सुधार गर्नु जरुरी रहेको विज्ञहरु बताउँछन् । ठूलो लगानीका आयोजना अगाडि बढाउँदा वैज्ञानिक तथ्य र पूर्वानुमानलाई तथ्यमा आधारित हुनुपर्छ । जोखिम व्यवस्थापनको पूर्वतयारी पनि उत्तिकै महत्वपूर्ण हुने उनीहरुको भनाइ छ ।

जलवायु र वातावरणका जानकार डा पपुलर जेन्टल विकास र वातावरणबीचको सन्तुलनको अभावमा समस्या पैदा भएको बताउनुहुन्छ । ‘हाम्रा भौतिक पूर्वाधार निर्माण नदी केन्द्रित भएको छ । एकापसमा सन्तुलनको अभाव छ । पूर्वानुमान र पूर्वतयारीको काम समेत प्रभावकारी हुन सकेको छैन’, उनले भने। उनले विकास निर्माण र वातावरणबीच सन्तुलन कायम गरेर अगाडि बढ्दा मात्रै बाढीपहिराबाट जोगाउन सकिने बताए ।

Previous Post

वर्षाको सम्भावना कायमै, विज्ञ भन्छन्- आत्तिनु पर्दैन

Next Post

बाढीपहिरोका कारण १७ अर्बभन्दा बढीको क्षति, पूर्ववत् अवस्थामा फर्काउन के छ तयारी ?

सम्बन्धित खबर

पृथ्वीराजमार्गका ऐतिहासिक सम्पदाको पुनर्निर्माण गरिँदै
समाचार

पृथ्वीराजमार्गका ऐतिहासिक सम्पदाको पुनर्निर्माण गरिँदै

१ जेष्ठ २०८३,
डलर साट्दै हुनुहुन्छ ? यस्ताे छ आजको विदेशी मुद्राको विनिमय दर
आर्थिक

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

१ जेष्ठ २०८३,
राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?
समाचार

आज २०८३ साल जेठ १ गते शुक्रबारको राशिफल

१ जेष्ठ २०८३,
अन्तरराष्ट्रिय परिवार दिवस आज मनाइँदै
अन्तर्राष्ट्रिय

अन्तरराष्ट्रिय परिवार दिवस आज मनाइँदै

१ जेष्ठ २०८३,
पछिल्ला तीन घण्टामा कञ्चनपुरमा सबैभन्दा बढी वर्षा
आवाज

पश्चिमी वायुको प्रभावः देशका विभिन्न स्थानमा वर्षा र हिमपातको सम्भावना

१ जेष्ठ २०८३,
मध्यपूर्व द्वन्द्वका कारण ऊर्जा सङ्कट गहिरिँदै, अमेरिकी अर्थतन्त्र प्रभावित
अन्तर्राष्ट्रिय

विश्वकपअघि अमेरिकाको भिसा नियममा आंशिक सहजता

१ जेष्ठ २०८३,
Load More
Next Post
बाढीपहिरोका कारण १७ अर्बभन्दा बढीको क्षति, पूर्ववत् अवस्थामा फर्काउन के छ तयारी ?

बाढीपहिरोका कारण १७ अर्बभन्दा बढीको क्षति, पूर्ववत् अवस्थामा फर्काउन के छ तयारी ?

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In