काठमाडौं – सर्ज गोडिन आफ्ना बुवाले सञ्चालन गरेको काठ मिलमा आगलागी भएपश्चात एक सफल व्यवसायी बने । कसरी ?
बुबाको काठ मिलमा आगालागी हुँदा गोडिन १७ वर्षका थिए । क्यानडामा सन् १९६६ मा काठमिलमा आगालागी भएपछि उनको परिवारले सर्वस्व नै गुमायो । आगलागी पश्चात बिमा कम्पनीहरुबाट क्षतिपूर्ति बापत रकम लिएर कैयन व्यक्तिले आफ्नो पुरानो व्यवसाय पुन सञ्चालन गरेको पनि भेटिन्छ । तर, गोडिनका बुवाले काठ मिलको बिमा गरेका थिएन्, जसका कारण उनी आफ्नो पुरानो व्यवसाय थाल्ने होइन, घरखर्च चलाउन जागिर खान बाध्य भए ।
काठमिलमा आगलागी भएपछि स्कुले जीवनमै गोडिनको काँधमाथि आफ्नो स्कुलको शुल्कसँगै परिवारको दैनिक जीवनयापनका लागि आवश्यक पर्ने रकम पनि जुटाउने जिम्मेवारी आयो । स्कुल सकिएपछि साँझको समयमा गोडन सुपरमार्केटमा काम गर्न जान थाले । शनिबार पनि उनी घरमा आराम गर्न बसेनन् । सबै सम्पत्ती गुमेपछि एउटा सानो घर पनि बनाउनुपर्ने उनका परिवारका लागि बाध्यता थियो । यी सबै बाध्यताहरुका कारणले नै गोडिनले बिदाको दिन पनि ड्राइ क्लिनर्समा काम गर्न सुरु गरे ।
सारा सम्पत्ती खरानीमा परिणत भएपनि व्यवसाय गर्ने भने गोडिनकोे इच्छा भने जिवितै थियो । त्यसैले उनले २० वर्षको उमेरदेखि नयाँ व्यवसाय गर्नका लागि कमाएको रकममध्ये केही बचत गर्न थाले । २६ वर्षमा उनले सीजीआई कम्पनी स्थापना गरे । जुन अहिले बिश्वब्यापी चर्चित आइटी कम्पनी बनेको छ । गोडन अहिले ६७ वर्षका भएका छन् । उनको कम्पनीले अहिले बार्षिक १० बिलियन क्यानेडीयन डलर आम्दानी गर्छ ।
ग्यारेजबाट थाले व्यवसाय
लाभल विश्वविद्यालयबाट कम्प्युटर साइन्समा स्नातक गरेपछि उनले केही वर्ष २ वटा कम्पनीमा काम गरे । त्यसपछि सन् १९७६ मा गोडेनले आफनै कम्पनी सीजीआई स्थापना गरे । उनले कम्प्युटरको व्यवसाय थाल्दा क्यानडामा कम्प्युटर व्यवसाय गर्ने लहर नै चलेको थियो । ग्यारेजमा कार्यालय खोलेर व्यवसाय सुरु गरेको उनको कम्पनीले पहिलो वर्षमा नै १ लाख ३८ हजार क्यानेडियन डलर आम्दानी ग¥यो ।
त्यसपछि सन् २०१२ मा गोडिनले प्रतिस्पर्धि युरोपियन कम्पनी लोजिकाको खरिद गरे । लेजिका खरिदसँगै सीजीआईमा कामदारको संख्या दोब्बरभन्दा बढीले बृद्धि भयो । सन् २०१२ अघि उनको कम्पनीमा ३१ हजार कामदार थिए । तर, लोजिका खरिदसँगै सीजीआईमा कर्मचारीको संख्या ६८ हजार पुगेको छ । अहिले विश्वभर रहेका २ हजारभन्दा सरकारी कार्यालयदेखि विश्वका २२ वटा ठूला बैंक पनि सीजीआईका ग्राहक छन् । साथै टायर उत्पादक कम्पनी मिचेलिन, विमान कम्पनी एयर फ्रान्स र लन्डको हेथ्रो विमानस्थल पनि उनका ग्राहक हुन् । यसरी खरानीको धुलोबाट उठेका उनि संसारको धनाढ्यको सूचीमा परेका छन् ।












