नवलपरासी।नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को बौदिकाली गाउँपालिका-२ डेढगाउँमा १५ करोड ३२ लाखमा निर्मित सुविधासम्पन्न आधारभूत अस्पताल सञ्चालन हुन सकेको छैन। निर्माण कम्पनीले भुक्तानी नपाउँदा भवन उपयोग गर्न समस्या भएको हो।
निर्माण सम्पन्न भए पनि निर्माण व्यवसायीलाई भुक्तानी गर्नुपर्ने केही रकम बाँकी भएका कारण गाउँपालिकालाई भवन हस्तान्तरण हुन नसकेको प्रमुख प्रशासकीय अधिकृत उज्वल बहादुर बस्नेतले बताए। ‘निर्माण व्यवसायीलाई दुई करोड २५ लाख रकम तिर्न बाँकी छ, काम सम्पन्न भएपछि भुक्तानीका लागि टिप्पणी उठाएर मन्त्रालयमा पठाएका छौँ। रकम प्राप्त भएपछि भुक्तानी गर्छौँ’, उनले भने।
निर्माण व्यवसायीलाई रकम भुक्तानी गर्न बाँकी भए पनि नयाँ भवनमा अस्पताल सञ्चालन गर्न मौखिक स्वीकृति दिएको प्रशासकीय अधिकृत बस्नेतले बताए। अस्पताल सञ्चालनमा आएपछि सामान्य औषधि उपचारका लागि पोखरा वा चितवन जानुपर्ने बाध्यता अन्त्य हुनेछ।













