पोखरा, ५ पुस । बलत्कार तथा भौतिक आक्रमणबाट सुरक्षित रहन पोखराको लेखनाथ स्थित ब्रह्म रुपा माविका छात्रालाई अंग रक्षा तथा कानूनी सचेतना सम्बन्धी तालीम दिइएको छ । कक्षा ७ देखि १२ कक्षा सम्म अध्ययन गर्ने पाँच सय छात्राहरुलाई त्यस्तो तालीम दिइएको हो । पोखरा महानगर पालिका र पोखरा महानगरपालिका वडा नं ३२ को व्यवस्थापनमा ति छात्राहरुलाई गुरु फिजिकल ट्रेनिङ सेन्टर पालिले एक हप्ते तालीम दिएको हो ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दुर्गालाल पण्डितले मङ्सिर २८ देखि पुस ५ गतेसम्म विद्यालयका छात्राहरु लक्षित गरी त्यस्तो तालीम दिइएको बताउनुभयो । अंग रक्षाका लागि केही मात्रामा सजगता अपनाउँदा पनि किशोरीहरु सुरक्षित हुन सक्ने भनाई अध्यक्ष पण्डितको छ । वडा नं ३२ की वडा सदस्य सावित्री पण्डितले तालीमले छात्राहरुलाई सहयोग मात्र हैन संम्भावतित दुर्घटनाबाट बच्न समेत सक्ने क्षमता वृद्धि भएको बताउनुभयो ।
बिद्यालयका प्रधानाध्यापक जनार्दन सुवेदीले विद्यार्थीको क्षमता अभिवृद्धिका लागि अन्य कार्यक्रम पनि सरकारले लयाउनु पर्नेमा जोड दिनुभयो । कक्षा १० मा अध्ययनरत छात्रा डीम्पल बिकले अंगरक्षक तथा कानुनी सचेतना तालीमले अंग रक्षा मात्र हैन अनुसाशनका थुप्रै सकरात्मक कुराहरु सिकाएको बताउनुभयो । गुरु फिजिकल ट्रेनिङ सेन्टरका संचालक सुरेश अधिकारी लगायतले छात्रालाई अंग रक्षा सम्बन्धी तालीम दिएका थिए ।













