काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सोविता गौतमले चार वर्ष पुरानो संवाद भाइरल भएपछि स्पष्टीकरण दिएकी छन्।
शनिबार सामाजिक सञ्जालमार्फत सांसद गौतमले चार वर्षअगाडि आफूले बोलेको विषयले यौन हिंसा प्रभावितलाई हीनताबोध गराउनुभन्दा उनीहरुप्रति स्वाभाविक व्यवहार गर्दा मनोवैज्ञानिक आरोग्य र सामाजिक पुनर्स्थापना सहज हुन सक्छ भन्ने आफ्नो आशय भएको स्पष्ट पारेकी छन्। गौतमले उक्त समय दिएको उदाहरण आजको अवस्थामा प्रयोग नगर्ने बताउँदै अहिले आफू परिष्कृत भइसकेको बताएकी छन्।
‘यौन हिंसा प्रभावितलाई हीनताबोध गराउनुभन्दा उनीहरूप्रति स्वाभाविक व्यवहार गर्दा मनोवैज्ञानिक आरोग्य र सामाजिक पुनर्स्थापना सहज हुन सक्छ भन्ने मेरो आशय हो। चार वर्षअघिको त्यो उदाहरण आज मैले पक्कै पनि प्रयोग गर्दिनँ। किनकि, अध्यध्यन र अनुभवले मेरो बुझाइ अहिले परिष्कृत भएको छ। पीडित शब्दले पनि हिंसामा पर्नेलाई असर गर्छ भनेर सर्वाइवर वा प्रभावित शब्द प्रयोग गर्न थालिएको छ। यसरी नै हामीले आफ्नो बुझाइको दायरा फराकिलो बनाउने हो,’ उनले भनेकी छन्।
गौतमले सार्वजनिक रूपमा भइरहेको टीकाटिप्पणीले आफूलाई संवेदनशील हुन घच्घच्याएको उल्लेख गरेकी छन्। उनले अभिव्यक्तिको आशयभन्दा अन्यथा अर्थ लागेर प्रभावितमाथि पर्न गएको आघातप्रति खेद रहेको बताएकी छन्।
गौतमले दाजुभाइ टक शो नामको एक युट्युब च्यानलमा बलात्कारको विषयमा गरिएको प्रश्नमा उनले दिएको उत्तरको भिडियो क्लिप भाइरल भएको हो। उनी मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा काठमाडौं २ बाट निर्वाचित भएकी थिइन्।













