काठमाडौं । पाकिस्तानमा अत्यधिक गर्मीका कारण ६ दिनमै पाँच सय बढीको मृत्यु भएको छ । दक्षिणी पाकिस्तानको कराचीमा अत्यधिक गर्मी बढेपछि विगत ६ दिनमा ५६८ जनाको मृत्यु भएको बीबीसीले जनाएको छ ।
पाकिस्तानको एदही एम्बुलेन्स सेवाका अनुसार कराचीको शवगृहमा दैनिक ३० देखि ४० शव ल्याउन थालिएको छ । कराचीमा ४० डिग्री सेल्सियसभन्दा बढी तापक्रम मापन गरिएको छ भने ह्यूमिडिटी अत्यधिक भएका कारण तापक्रम ४९ डिग्री सेल्सियस जस्तो अनुभव भइरहेको त्यहाँका नागरिकहरूले बताएका छन् । अत्यधिक गर्मीबाट लाग्ने लूका कारण बिरामी हुने मानिसहरूको संख्या पनि बढ्दै गएको पाकिस्तानको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।













