काठमाडौं । वैदेशिक रोजगारी पठाइदिने भन्दै १५ करोड रकम ठगी गरेको आरोपमा दुई जना प्रहरीको कब्जामा परेका छन् । मंगलबार काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले चितवनको भरतपुर महानगरपालिका १८ का २८ वर्षका राजकुमार भट्ट र कास्कीको पोखरा महानगरपालिका ८ का ४६ वर्षीय पवन पन्तलाई पक्राउ गरेको हो ।
उनीहरुले ३०० भन्दा बढीलाई वैदेशिक रोजगारीका लागि विभिन्न ठाउँमा पठाइदिने भन्दै १५ करोड रकम ठगी गरेको कार्यालयका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सानुराम भट्टराईले जानकारी दिए । उनीहरूले कम्बोडिया, न्युजिल्याण्ड, फ्रान्स लगायतका देशमा पठाई दिन्छु भन्दै तीन सय जन भन्दा बढी व्यक्तिबाट करिब १५ करोड रकम ठगी गरे उनले बताए ।
फेसबुक, म्यासेन्जर, ह्वाट्सएप लगायतका सामाजिक सञ्जालमा नक्कली आइडी बनाएर वैदेशिक रोजगारीमा पठाइदिने भन्दै आकर्षक तलब, भत्तासहितको विज्ञापन सार्वजनिक गरी त्यसको सम्पर्कमा आउने व्यक्तिलाई विभिन्न व्यक्तिको बैंक खातामा रकम जम्मा गर्न लगाई ठगी गरेको प्रहरीले निष्कर्ष निकालेको छ ।
यस्तै काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयमा नवीन चौधरी समेत १५ जनाको निवेदन तथा जाहेरी दर्खास्त परेको थियो । विकास राणा समेतको जाहेरीमा वैदेशिक रोजगार ठगी मुद्दामा धरौटी तिर्न नसकेपछि कारागार कार्यालय डिल्लीबजारमा थुनामा छन् । यस्तै थुनामा रहेका राजुकुमार बस्नेतले समेत ठगी सम्बन्धी कसुरमा जाहेरी दिएका थिए ।