१) ठूलो मानिस आएको देखेपछि साना मानिसको सातो उडेको जस्तो हुन सक्छ त्यसैले उभिएर प्रणाम गर्नाले साहस आफ्नो ठाउँमा आउँछ ।
२) उपाध्यायभन्दा दशगुणा आचार्य गुरु, आचार्यभन्दा सयगुणा पिता र पिताभन्दा हजार गुणा माता महान् छन् ।
३) अज्ञानी नै बालक हो र मन्त्र वा शिक्षा दिने नै पिता हो । मुनिहरुले पनि अज्ञानीलाई बालक र उपदेश दिनेलाई पिता नै भनेका छन् ।
४) आफूले दुःख पाए पनि अर्काको चित्त दुःखाउनु हुँदैन । अर्कासँग शत्रुता राख्ने मति पनि लिनुहुँदैन र अर्कालाई बिझाउने किसिमको वचन पनि बोल्नु हुँदैन ।
५) ब्राह्मणले सम्मानलाई बिषझौ ठानेर त्यसको आशा गर्नुहुँदैन र अपमानलाई अमृतजस्तो ठानेर स्नेहपूर्वक लिनुपर्दछ । अपमानित मानिस बरु संसारमा सुखले सुत्छ, सुखले संसारमा घुम्छ तर अपमान गर्ने मानिस नष्ट हुन्छ ।
६) सन्तान जन्माउन र हुर्काउनका निम्ति आमा बुवाले जुन कष्ट भोगेका हुन्छन्, त्यस कष्टबाट सयवर्षमा पनि मुक्ति पाउन सकिँदैन ।
७) माताप्रतिको भक्तिले यस लोकको, पिताप्रतिको भक्तिले मध्यलोकको र गुरु प्रतिको भक्ति र सेवाले ब्रह्मलोकको सुख प्राप्त हुन्छ ।
८) जिन्दगीमा कहिल्यै पनि नलड्नु ठूलो कुरा हैन तर लडेर उठ्नु ठूलो कुरा हो ।
साभारः ‘महापुरुषहरुका अमर वाणी’ पुस्तकबाट













