मानिसका वचन, जीवन हेर्दा यत्ति जान्न पाइन्छ कि तात्कालिक वातावरणमा आवश्यक, अनावश्यक उठापटक त्यो पनि अहङ्कार र समाजका सुषुप्त वासनाका अनुरूप क्रिया–प्रतिक्रियामा नै यिनीहरूको धूर्त, मूर्ख र अज्ञानपूर्ण व्यवहार छ ।
सिद्धार्थ बुद्ध, नागार्जुन कबीर, कृष्णमूर्ति, नीलवावा, ओशो यी सब चेतना पुरुषलाई अलग गर्ने हो भने सामाजिक सुषुप्त र प्रचलित मान्यतालाई हाम्रा सामाजिक अहंले यिनीहरूको निर्माण गरेको हो । भौतिक शक्तिद्वारा शोषण गर्ने व्यक्तिहरूलाई सुधार्नेबित्तिकै यो पृथ्वी स्वतः स्वर्ग हुन्छ । कार्ल माक्र्सका काल्पनिक कुराले होइन, यथार्थतः ध्यानपूर्ण सजग जीवनले मात्र संसारको अशान्ति, अज्ञान, स्वार्थ, पाखण्ड, अन्याय, अत्याचार र लोभ, मोहबाट मुक्ति दिन सक्छ ।
प्रत्येक व्यक्तिले स्वयंका जीवनमा अपरिग्रह र अनासक्त प्रज्ञाको प्रकाश ल्याउनुपर्छ । तब मात्रै मानवताको उद्धार सम्भव छ अन्यथा यो अज्ञान, भेद वा लोभको आगो कहिल्यै शान्त हुने छैन ।
कसैलाई केही नभन, साक्षी भएर हेर, केवल हेर । समर्पित र वैरागी भएर कोइ पात्र निकट आउँछ भने शिक्षाको प्रेरणा देऊ, बाटामा कहीँ गएर अपात्रमा स्वतन्त्रताको चर्चा गर्नु व्यर्थता हो । एकान्तमा एक्लै शान्त प्रसन्न स्मृतिलाई श्वासका साथमा राखेर बस । सबै व्यक्तिहरू चाहनाका सीमामा बाँधिएका छन् । यसको आशय हो व्यवहार र समाजमात्रको प्रवृत्तिमा स्वयंको उतार छ, त्यहाँ अवलोकन छैन । सीमा, आग्रह, चाहना र प्रवृत्ति नै मनुष्य पतनका सूत्र वा स्रोत हुन् ।
साभारः ‘विचारप्रवाह’ पुस्तकबाट













