काठमाडौं । साथीको गोप्य भिडिओ बनाएर यौन सम्पर्कका लागि ‘ब्ल्याकमेलिङ’ गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा म्याग्दीको म्याग्दी नगरपालिका–५ का ३० वर्षीय सन्तोष किसान रहेका छन् ।
उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले काठमाडौंको नयाँ बसपार्कबाट पक्राउ गरेको हो । सामाजिक सञ्जालमार्फत महिलाहरुलाई साथी बनाउने, कुराकानी गर्ने, भिडिओ कलमा गोप्य अंगहरु देखाउन लगाउने र त्यसको भिडिओ बनाई ब्ल्याकमेलिङ गर्ने गरेको उनीमाथि आरोप छ ।
अश्लिल भिडिओ बनाएपछि यौन सम्पर्कका लागि बार्गेनिङ गर्ने र नमाने आफन्तलाई भिडिओ पठाइदिन्छु भन्दै आपराधिक लाभको कसुर गरेको प्रहरीले जनाएको छ । पक्राउ परेका किसानलाई आपराधिक लाभको कसुरमा कारबाही गर्न भन्दै जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ ।











