अमृत सुवेदी
समाजलाई पिपलको रूखले झैँ सितलता दिने कमलशरण साँच्चै त्यो गाउँका होनहर समाजसेवी थिए । गाउँका मानिसहरू उनलाई देख्दा श्रद्धाले झुक्थे ।
मेरो यो छवि दोस्रो पुस्तामा अझ बढेर जाओस्, छोराले गाउँवासीको सेवा मेरो भन्दा अझ बढी गरोस् । सारा जनताको श्रद्धा भक्ती आफू उपर रही रहोस् । कमलशरणको चाहना थियो तर छोरा धुम्रपान, मध्यपान र समाजका आवाराको संगतमा हिँडेको देख्दा, भनेको नमान्दा कमलशरण दिक्दार थिए ।
एक दिन यही दिक्दारमा रनभुल्ल परेका कमलशरणलाई भेट्न रघुनाथ आइपुगे । समाज शास्त्रका प्राध्यापकसँगको भलाकुसारी पछि रघुनाथले सम्झाउदै भने— कमलशरण जी ! खल्लुको रूखमुनी खल्लुको विरूवा उम्रन सक्छ तर पिपलको रूखमुनी पिपलको विरूवा उम्रेको देख्नुभएको छ ? पिपलको विरूवा त गुमाने दाइको चर्केको घरको भित्तामा पो उम्रन्छ त । यो सुनेर कमलशरण तिनछक परे र एकपटक झसङ्ग भए ।
साभारः लघुकथा कुनोबाट













