जसरी हँसिलो मुहारको मानिस सबैलार्ई राम्रो लाग्छ त्यसैगरी मुस्कुराएको पनि सबैलाई मनपर्छ । मुस्कुराएर कुरा गर्नेले धेरै भन्दा धेरै साथी बनाउन सक्छ । ठुस्स परेको अनुहार कसैलाई पनि मनपर्दैन । कसैसँग आँखा जुधेपछि केही बोल्नु अगाडि, मुसुक्क हाँस्नाले वातावरण राम्रो बन्छ र ऊ पनि हाँसेर प्रस्तुत हुन्छ । त्यसैले कुरा गर्दा हाँसेर वा मुहार उज्यालो पारेर कुरा गर्नुपर्छ ।
केही बोल्नुअघि मुस्कुराउँदा आपसमा मित्रतापूर्ण पृष्ठभूमि तयार हुन्छ । दुईजनाको भेटमा जो पहिले मुस्कुराउँछ, वातावरण उसको पक्षमा बन्ने सम्भावना धेरै हुन्छ । यदि हामीले हाम्रो बोल्ने शैली, हाम्रो अनुहारको भावमा ध्यान पु¥याउन सकेनौँ भने अर्काे व्यक्तिले आफ्नो अनुकूलको वातावरण तयार गर्न सक्नेछ । त्यसैले हामीले सधैँ सबैभन्दा पहिले मुस्कुराहटबाट कुराको शुरुवात गर्नाले आफ्नो अनुकूलको वातावरण तयार हुन सक्छ र हामीले आफ्ना योजनामुताविकका कामहरु गर्न सक्छौँ जुन हाम्रो सफलतासँग जोडिएका हुन्छन् ।
विचार गर्नुपर्ने कुरा के हो भने सधैँ एक अर्कासँगको भेटमा मुस्कुराउने बानीको विकास गर्नपर्छ तर मानिस शोक, दुःखको अवस्थामा पनि हुनसक्छ, यस्तो अवस्थामा भने मुस्कुराउनु हुँदैन । हामीले अवस्था हेरेर कुनै कलाकारजस्तै परिस्थितिअनुुसार अनुहारमा भाव ल्याउनुपर्छ ।













