काठमाडौं । सिन्धुपाल्चोक पाँचपोखरी थाङपाल गाउँपालिका मनोमानी ढङ्गबाट चलेको थप प्रमाणहरू सार्वजनिक भएका छन् । गाउँपालिकाले गरेको कृषि अनुदान वितरण र उपभोक्ता समिति मार्फत गरेका विकास निर्माणका काम विवाद परिरहेको वेला चालकले चलाउनुपर्ने सवारी साधन प्रशासकीय अधिकृतले चलाउँदा दुर्घटना नै हुन पुगेको छ ।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण कुइँकेलले लापरबाहीपूर्वक सवारी चलाउँदा आफू मात्र घाइते भएका छैनन्,सवारी साधनमा चढेका ६ जना घाइते हुन पुगेका छन् । कुइँकेलले चलाएको बा १ झ ६३०३ नम्बरको जिप वैशाख १४ गते गम्भीर दुर्घटना भएको थियो ।
दुर्घटनामा प्रशासन प्रमुख राम प्रसाद न्यौपाने, शिक्षा शाखा प्राविधिक सहायक सरिता गौतम, राजश्व शाखा प्रमुख दिपा कुमारी धमला, महिला बालबालिका तथा ज्येष्ठ नागरिक शाखा प्रमुख शारदा उप्रेती र सवारी चालक कान्छा तामाङ सहित छ जना घाइते भएका छन् ।

घाइते भएका ६ जनामध्ये ३ जना सामान्य उपचार पश्चात् डिस्चार्ज भएका छन् । दुर्घटनामा परी सामान्य घाइते भएका गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण कुइँकेल काठमाडौँस्थित अर्थोपेडिक अस्पतालमा सामान्य उपचारपछि डिस्चार्ज भएका हुन् । यस्तै दुर्घटनामा परी गम्भीर घाइते भएका तीन जनाको अहिले उपचार जारी छ ।
गम्भीर घाइते भएकामध्ये शिक्षा शाखा प्राविधिक सहायक सरिता गौतम, राजश्व शाखा प्रमुख दिपा कुमारी धमलाको काठमाडौंस्थिति ट्रमा सेन्टरमा र प्रशासन प्रमुख राम प्रसाद न्यौपानेको काठमाण्डौं मेडिकल कलेजमा उपचार भइरहेको छ । प्रमुख प्रशासकीय अधिकृत कुइँकेलले सवारी चलाउँदा चालक कान्छा तामाङ भने पछिल्लो सिटमा बसेका थिए ।
वैशाख १४ गते अपराह्न ४ः३० बजे सिन्धुपाल्चोकबाट काठमाडौँ आउने क्रममा वडा नं. ८ तिपेनीमा जिप दुर्घटना भएको हो । दुर्घटना हुनुभन्दा पहिला उक्त गाडी गाउँपालिका उपाध्यक्ष सुनिता अधिकारीले प्रयोग गर्दै आएकी थिइन् । दुर्घटनापछि जिप क्षतविक्षत भएको छ भने उक्त जिप अहिले पनि दुर्घटनास्थलमा नै बेवारिसे अवस्थामा रहेको छ ।














