भारतीय राजदूतावास, काठमाडौंस्थित स्वामी विवेकानन्द सांस्कृतिक केन्द्र, भारतको महावाणिज्य दूतावास,वीरगंज र बीपी कोइराला भारत–नेपाल फाउन्डेसनले नेपाली नयाँ वर्ष विक्रम सम्वत् २०८१ को अवसर पारेर मिति २०८१ वैशाख १ गते जनकपुरधाम सांस्कृतिक महोत्सवको दोस्रो संस्करणको आयोजना गर्यो । जनकपुरधाम सांस्कृतिक महोत्सवको पहिलो संस्करण सन् २०२३ अप्रिलमा आयोजना गरिएको थियो ।
उक्त महोत्सव जनकपुरस्थित महेन्द्रनारायण निधि मिथिला सांस्कृतिक केन्द्रमा आयोजना गरिएको थियो र दुई सत्रमा विभाजित थियो ।
कार्यक्रमको पहिलो सत्रमा श्री हरिवंश झाले ‘जानकी लीला’ मा महत्वपूर्ण व्याख्यान प्रस्तुत गरेका थिए । कार्यक्रममा सारीका साथै भारत र नेपालका किल्लाहरुको प्रदर्शनी र चर्चित सेफ सन्तोष साहद्वारा प्रस्तुत मैथिली फुड फेस्टिवल पनि समावेश थियो ।
कार्यक्रमको दोस्रो सत्रमा स्वामी विवेकानन्द सांस्कृतिक केन्द्रका गुरु तथा कलाकारले भगवान राम र सीताको जीवनीमा आधारित भजनको सांगीतिक प्रस्तुति प्रस्तुत गरेका थिए । दोस्रो सत्रको विशेष आकर्षण प्रसिद्घ नेपाली गायिका सुश्री मेनुका पौडेलको प्रस्तुति रहेको थियो । मेनुका पौडेल इन्डियन आइडल २०२४ को उत्कृष्ट १० मा पर्न सफल भएकी थिइन् ।
मधेश प्रदेशका माननीय मुख्यमन्त्री श्री सरोज कुमार यादवले प्रमुख अतिथिको रुपमा महोत्सवको पहिलो सत्रको उद्घाटन गर्नुभएको थियो । जनकपुरधाम उपमहानगरपालिकाका माननीय मेयर श्री मनोज कुमार साहले साँझको सांस्कृतिक कार्यक्रममा प्रमुख अतिथिको रुपमा उपस्थिति जनाउनु भएको थियो ।
सो महोत्सवमा मधेश प्रदेशका प्रदेश सभा सदस्य, प्रतिष्ठित व्यक्तित्व र सञ्चारकर्मीहरुको सहभागीता रहेको थियो साथै दर्शकहरुको बाक्लो उपस्थिति रहेको थियो । दुई देशका कला, संस्कृति तथा चाडपर्वको साझा परम्परामा झल्किने भारत र नेपालको साझा सांस्कृतिक सम्पदालाई जनकपुरधाम सांस्कृतिक महोत्सवको दोस्रो संस्करणले मनाएको थियो ।